Logo

२ बैशाख, वीरगञ्ज । वीरगंज महानगरपालिका वडा नं १ का‌ वडा अध्यक्ष मनोज राउत कुर्मी ले वडामा बिकास गर्न खोज्दा पनि बिकास गर्न नदिएको गुनासो गरेका छन्।

वीरगंज महानगरपालिका वडा नं १ स्थित लक्ष्मीनारायण मन्दिर प्राङ्गणमा भएको वडावासीसँगको छलफल कार्यक्रममा वडा अध्यक्ष मनोज राउत कुर्मीले आफूले वडाको विकासका लागि काम गर्न खोज्दा वडा सदस्यहरुले अवरोध सृजना गरेको बताए ।

वडा अध्यक्ष लगायत सदस्यहरू जनता समाजबादी पार्टी कै निर्वाचित प्रतिनिधि हुन निर्वाचित प्रतिनिधिको वडाको बोर्ड बैठक नियमित बस्न नसकेको कुर्मीले बताए । २०७९ असोज पछि आज सम्म वडा समितिको बैठक बस्न नसकेको वडा अध्यक्ष कुर्मीले बताए।

वडाको बैठक नियमित बस्न नसक्नु र विकास निमार्णका कार्यहरुमा अवरोध किन आएको भनि वडावासीले गरेको प्रश्नमा वडा अध्यक्ष कुर्मीले कार्यपालिकाको बैठक र वडा समितिको बैठक बस्दा जनप्रतिनिधि पाउँने कानुन बमोजिमको भत्ता आफूले नलिएको र त्यहीँ विषयमा बडा सदस्यहरुसँग कुरा नमिलेको कुर्मीको भनाई छ ।

आफूले पाउँने पारिश्रमिक समेत जनताको सेवामा खर्च गर्नेगरेको भन्दै वडा अध्यक्ष कुर्मीले वडा सदस्यहरुले भत्ता नपाउने भएपछि वडाको विकास निर्माणको काममा भाजो हालेको बताए ।

उनले वडा सदस्यहरुले प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचनमा वडा सदस्यहरु चुनावको बेला पार्टी निर्णय बिपरित वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको भतिजा रुपेशमान सिंहको लालटेन छापको झण्डा बोकदै भोट मागेको आफूसँग प्रमाण रहेको वडा अध्यक्ष कुर्मीले दाबि गरे । वडा नंं १ का वडा अध्यक्ष र सदस्यहरु जसपाबाट निर्वाचित छन ।

वडा अध्यक्ष कुर्मीले‌ वडावासीसँग सार्वजनिक रुपमा नगरको विकासको लागि आफूलाई जनताले निर्वाचित गरेर पठाएकोले जनतालाई धोका दिने काम कहिलै नगर्ने बताए । उनले विकास निर्माणको काममा कुनै प्रकारको कमिशन नलिने नदिने र कार्यपालिका वा नगरसभा सदस्यको रुपमा आउने तलव भत्ता समेत व्यक्तिगत प्रयोजनका लागि नलिने घोषणा वडा भेलामा गरेका छन् ।

भेलामा वडा अध्यक्ष र सदस्यका पक्षमा विभाजन देखिएका वडावासीले निर्वाचित जनप्रतिनिधिलाई जनताको समस्यलाई वडाको विकासलाई मुख्य प्राथमिकतामा राखेर मिलेर काम गर्न सुझाव दिएका थिए ।

वडा अध्यक्ष मनोज राउत कुर्मीले वडा सदस्यहरु कुनै व्यक्तिगत स्वार्थ नराखी सहयोग गरेमा वडाको विकास निर्माण हुने र एम्वुलेन्स समेत आउने आश्वासन दिएका थिए । भेलामा वडा अध्यक्ष र सदस्य पक्षधरका केही सहभागी विच एक आपसमा होहल्ला गरेका थिए ।


सम्बन्धित समाचार