२१ फागुन,काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्वक भइरहेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले बताएका छन्।
उनका अनुसार केही मतदान केन्द्रमा सामान्य विवाद भए पनि कर्मचारी र सुरक्षाकर्मीले सम्झाइबुझाइ गरेपछि समस्या समाधान गरी पुनः मतदान सञ्चालन गरिएको छ।
‘यहाँ शान्तिपूर्वक निर्वाचन भइरहेको छ। मतदाताले राम्रोसँग मत खसाल्न पाइरहनुभएको छ। स–साना विषयलाई लिएर सामान्य विवाद भएका थिए, तर कर्मचारी र सुरक्षाकर्मीले सम्झाएपछि रोकिएका ठाउँमा पनि पुनः मतदान भइसकेको छ,’ उनले भने, ‘अहिलेसम्म ५० प्रतिशतभन्दा बढी मत खसिसकेको छ।’
निर्वाचन अधिकृत घिमिरेले साँझ ८ बजेसम्म सबै मतदान स्थल र केन्द्रबाट मतपेटिका संकलन गरिसक्ने जानकारी दिए। ‘साँझ ८ बजेसम्म सबै मतदान केन्द्रको मतपेटिका गणनास्थलमा ल्याइसक्छौँ,’ उनले भने, ‘आजै सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी छ।’
सर्लाही–४ को मतगणना वेणी भोला माध्यमिक विद्यालय, गोडैतामा गर्ने व्यवस्था मिलाइएको छ। केही मतदान केन्द्र र मतगणना स्थलबीच करिब २० किलोमिटरसम्म दूरी रहेको पनि उनले बताए।
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।

















