२१ फाल्गुण, काठमाडौँ । मुलुकभर उत्साहजनक र तुलनात्मक रूपमा शान्तिपूर्ण वातावरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।
विगतका दाँजोमा यसपटकको निर्वाचन सुरक्षा र व्यवस्थापनका दृष्टिले निकै सुदृढ देखिएको छ, जहाँ सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने स्थिति निम्तिएन । निर्वाचन आयोग र सुरक्षा निकायहरूले एक थोपा रगत नबग्ने सरकारको संकल्पलाई साकार पार्दै मानवीय क्षतिरहित मतदान प्रक्रिया पूरा भएको दाबी गरेका छन् । छिटपुट विवाद र प्राविधिक अवरोधका बाबजुद देशभरका मतदान केन्द्रहरूमा नागरिकले निर्धक्कसँग मताधिकार प्रयोग गरेका छन् ।
दोलखाको तामाकोशी गाउँपालिकास्थित गोल्मेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा कर्मचारी र राजनीतिक दलका प्रतिनिधिबीचको विवादले केही घण्टा मतदान प्रभावित तुल्याए पनि सुरक्षाकर्मीको समन्वयमा स्थिति नियन्त्रणमा लिइएको थियो। सो क्रममा सुरक्षाका लागि दुई राउन्ड हवाई फायर गर्नुपरेको भए पनि मानवीय चोटपटक भने लाग्न पाएन ।
यस्तै, उदयपुरको कटारीमा एक सुरक्षाकर्मीको सटगन असावधानीवश पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगे पनि मतपत्र सुरक्षित रहेकाले मतदान कार्यलाई निरन्तरता दिइयो । यी दुई जिल्लाबाहेक मुलुकका अन्य कुनै पनि स्थानमा हतियार प्रयोग गर्नुपर्ने अवस्था नआएको सुरक्षा अधिकारीहरूले स्पष्ट पारेका छन् ।
भदौमा भएको जेनजी प्रदर्शनका कारण सुरक्षा संरचनामा पुगेको क्षतिका बावजुद प्रहरीले अवलम्बन गरेको एकीकृत सुरक्षा रणनीति यसपटक निकै प्रभावकारी साबित भयो । झापा, सर्लाही र दोलखाजस्ता संवेदनशील एवं हेभिवेट उम्मेदवार भएका क्षेत्रहरूमा अनुभवी उच्च अधिकारीहरूको कमान्ड परिचालन गरिएकाले विवादहरूले उग्र रूप लिन पाएनन् । रौतहट, स्याङ्जा, हुम्ला र डडेलधुरा लगायतका जिल्लामा देखिएका सानातिना असमझदारीलाई पनि सुरक्षा निकायले तत्कालै संवादमार्फत टुङ्ग्याएर मतदान सुचारु गराएका थिए ।
निर्वाचन आयोगले यसपटक कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति नरहेको भन्दै सन्तोष व्यक्त गरेको छ । १६५ प्रत्यक्ष र ११० समानुपातिक सदस्य चयनका लागि भएको यस महाकुम्भमा करीब ३ लाख ३४ हजारको विशाल सुरक्षा फौज परिचालन गरिएको थियो । लाठीचार्ज समेत गर्नु नपर्ने गरी सम्पन्न भएको यो निर्वाचनले नेपालको लोकतान्त्रिक अभ्यास र सुरक्षा व्यवस्थापनमा एउटा नयाँ र सकारात्मक मानक स्थापित गरेको सुरक्षा निकायको निष्कर्ष छ ।

















