Logo

२२ फाल्गुण, काठमाडौं । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले आफ्ना निकटतम प्रतिस्पर्धीलाई निकै पछाडि पार्दै प्रभावशाली अग्रता कायम गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार प्रचण्डले ३ हजार ६६९ मत प्राप्त गरेका छन्, जुन उनका प्रतिस्पर्धीको तुलनामा तेब्बरभन्दा बढी हो । उनीभन्दा पछि रहेकी नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले १ हजार २९ मत प्राप्त गरेकी छिन् । हालसम्मको गणनामा प्रचण्ड र थापाबीचको मतान्तर २ हजार ६४० पुगेको छ ।

निर्वाचनको प्रारम्भिक नतिजामा नेकपा एमालेका उम्मेदवार लीलामणि गौतम ६६३ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लक्ष्मणकुमार थापा ३५४ मतसहित चौथो स्थानमा रहेका छन् । भौगोलिक विकटताका कारण दुर्गम क्षेत्रबाट मतपेटिका ल्याउन समय लागेकाले गणना केही ढिलो सुरु भए पनि सुरुवाती चरणदेखि नै प्रचण्डले लिएको फराकिलो अग्रताले यस क्षेत्रमा उनको बलियो पकड रहेको पुष्टि गरेको छ ।

रुकुमकोटस्थित निर्वाचन कार्यालयमा कडा सुरक्षाका बीच अहिले गणना कार्य जारी छ र ११ जना उम्मेदवार रहेको यस क्षेत्रको अन्तिम नतिजाका लागि अझै केही समय कुर्नुपर्ने देखिएको छ ।


सम्बन्धित समाचार