२२ फाल्गुण, काठमाडौं । हिमाली जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो जितको खाता खोलेको छ ।
कांग्रेसका युवा नेता योगेश गौचन थकालीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रधारा विष्टलाई १ हजार ५०१ मतान्तरले पराजित गर्दै लगातार दोस्रो पटक संसद्को यात्रा तय गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार गौचनले ३ हजार ३०७ मत प्राप्त गर्दा विष्टले १ हजार ८०६ मतमा चित्त बुझाउनुपरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकाली ७५९ मतका साथ तेस्रो स्थानमा समेटिएका छन् ।
नेपाली कांग्रेस मुस्ताङका सभापति एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा योगेशले यसपटक पनि आफ्नो विरासतलाई जोगाउन सफल भएका छन् ।
२०७९ को निर्वाचनमा नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई पराजित गरेर चर्चामा आएका योगेशले यसपटक झन् फराकिलो मतान्तरसहित जित निकाल्दै आफ्नो लोकप्रियता प्रमाणित गरेका हुन् ।
थासाङ गाउँपालिका लेतेका बासिन्दा योगेश बिजनेस म्यानेजमेन्टमा स्नातक हुन् भने उनी सफल पर्यटन र होटल व्यवसायीका रूपमा पनि चिनिन्छन् । मुस्ताङको यो नतिजासँगै कांग्रेसले देशभरमै उत्साहजनक सुरुवात गरेको छ ।

















