२२ फाल्गुण, काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनाले नै नेपाली राजनीतिमा ठूलो तरंग पैदा गरिदिएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाका लागि यो निर्वाचन क्षेत्र चुनौतीपूर्ण बन्दै जाँदा सुरुआती नतिजामै उनी पछि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिएका अमरेश सिंहले सुरुदेखि नै कडा टक्कर दिँदै गगनलाई उछिन्ने संकेत देखाएका छन् । पछिल्लो तथ्याङ्कअनुसार अमरेश सिंहले ९७६ मतका साथ अग्रता लिइरहँदा सभापति थापा ७४४ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
यो नतिजा अहिले गणना भइरहेको अमरेश सिंहको आफ्नै निवास रहेको पालिकाको भएकाले पनि रास्वपाको पक्षमा केही ढल्केको देखिएको छ। यद्यपि, जनमत पार्टीका उम्मेदवारले ५११ मत र नेकपा एमालेले १९५ मत प्राप्त गर्दै यो प्रतिस्पर्धालाई बहुआयामिक बनाइदिएका छन् ।
कांग्रेसका लागि प्रतिष्ठाको लडाइँ मानिएको यस क्षेत्रमा गगन थापाको सुरुआती ब्याकफुटलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ । अहिले गणना जारी रहँदा अमरेशको यो अग्रता कायम रहला वा गगनले पुनरागमन गर्लान् भन्ने चासोले सर्लाहीको चुनावी माहोल निकै तातिएको छ ।

















