२२ फाल्गुण, काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले मुलुकको राजनीतिमा एउटा ठूलो परकम्प ल्याइदिएको छ ।
निर्वाचन आयोगका अनुसार हाल देशभरका ७७ निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५९ स्थानमा प्रभावशाली अग्रता कायम गर्दै चुनावी माहोल आफ्नो पक्षमा पारेको छ ।
पुराना र स्थापित दलहरू यतिबेला रक्षात्मक अवस्थामा देखिएका छन्, जहाँ नेपाली कांग्रेस १० क्षेत्रमा, नेकपा एमाले ३ क्षेत्रमा र नेपाली कम्युनिस्ट पार्टी मात्र २ क्षेत्रमा अगाडि देखिएका छन् । अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूले पनि केही स्थानमा आफ्नो उपस्थिति बलियो बनाउँदै गणनालाई रोमाञ्चक मोडमा पुर्याएका छन् ।
दुईवटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम
अहिलेसम्म दुईवटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ, जसले संसद्को नयाँ चित्र कोर्न सुरु गरेको छ । काठमाडौँ क्षेत्र नम्बर १ बाट रास्वपाकी रञ्जु दर्शनाले जितको खाता खोलेर इतिहास रचेकी छिन् भने हिमालपारिको जिल्ला मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएर आफ्नो विरासत जोगाउन सफल भएका छन् ।
काठमाडौँ उपत्यकादेखि मधेश र पहाडका ठूला सहरहरूमा रास्वपाको क्लिनस्विप गर्ने सम्भावना बढ्दै जाँदा, स्थापित नेताहरू आफ्नै किल्ला जोगाउन संघर्षरत देखिएका छन् ।
नेपाली राजनीतिको आगामी यात्रा फरक
निर्वाचनको यो सुरुआती रुझानले मतदाताहरूले परिवर्तनका लागि स्पष्ट जनादेश दिन खोजेको संकेत गर्दछ । सर्लाहीमा गगन थापा पछि पर्नु, रुपन्देहीमा विष्णु पौडेलको अग्रता खस्कनु र भक्तपुरमा नेमकिपाको पकड कमजोर हुनुले नेपाली राजनीतिको आगामी यात्रा फरक ढंगले अघि बढ्ने देखिएको छ ।
म्याग्दीमा महावीर पुनको पुनरागमन र राप्रपाको केही स्थानको अग्रताले पनि यो निर्वाचनलाई निकै अर्थपूर्ण बनाएको छ । सबैको नजर अहिले बाँकी क्षेत्रको मतगणना र अन्तिम परिणामतर्फ सोझिएको छ ।

















