२३ फाल्गुण, काठमाडौं । निर्वाचनको ताजा नतिजाले यतिबेला राजनीतिमा नयाँ र रोचक मोड ल्याएको छ ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक परिणाम सार्वजनिक भइरहँदा काठमाडौँ लगायत देशभर घण्टीको कडा लहर देखिएको छ । शनिबार बिहान पौने ११ बजेसम्म ४० क्षेत्रको अन्तिम नतिजा बाहिरिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आश्चर्यजनक रूपमा ३० सिटमा कब्जा जमाइसकेको छ भने थप ८७ क्षेत्रमा आफ्नो अग्रता कायम राख्दै विजयतर्फ लम्किरहेको छ।
यता, देशका पुराना र स्थापित दलहरूलाई भने यसपटकको नतिजाले निकै दबाबमा पारेको देखिन्छ। नेपाली कांग्रेसले हालसम्म ५ स्थानमा जित हात पार्दै १० स्थानमा अग्रता जोगाउन सफल भएको छ भने नेकपा एमालेले २ स्थानमा मात्र जित निकाल्दै १० स्थानमा आफ्नो अग्रता कायम राखेको छ। त्यस्तै, नेकपाले २ स्थानमा जित र ९ स्थानमा अग्रता बनाएको छ । दलीय प्रतिस्पर्धाको यो भीडमा १ जना स्वतन्त्र उम्मेदवारले जितको झन्डा गाडिसकेका छन् भने ६ जना स्वतन्त्र उम्मेदवारहरू अझै चुनावी दौडमा अगाडि देखिन्छन् ।
प्रत्यक्षतर्फको १६५ र समानुपातिकतर्फको ११० सिटको यो महासंग्राममा रास्वपाको बढ्दो प्रभावले परम्परागत राजनीतिक समीकरणलाई पूर्ण रूपमा चुनौती दिइरहेको स्पष्ट देखिन्छ ।

















