Logo

२३ फाल्गुण, काठमाडौं । चितवन क्षेत्र नम्बर ३ को चुनावी मैदानमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले ऐतिहासिक जित हासिल गरेकी छन् ।

निर्वाचन अधिकृत बालकृष्ण निरौलाले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार, कूल खसेको १ लाख ३ मतमध्ये गौतमले ५९ हजार २ सय ७७ मत प्राप्त गर्दै शानदार विजय प्राप्त गरेकी हुन् । यो जित चितवनको चुनावी इतिहासमै अहिलेसम्मकै सर्वाधिक मतको रेकर्डसहितको विजय बनेको छ, जसले राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा गरेको छ ।

यसपटकको प्रतिस्पर्धामा नेकपाकी उम्मेदवार रेनु दाहाललाई गौतमले ३८ हजार ६ सय ६२ को विशाल मतान्तरले पछि पारिन् । विकासप्रेमी नेतृको रुपमादेशभर चिनिएकी दाहालले २० हजार ६ सय १५ मतमा चित्त बुझाउनु पर्याे । पुराना र स्थापित दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको अवस्था भने निकै निराशाजनक देखियो । कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले ८ हजार ३ सय ४४ र एमालेका शंकरराज थपलियाले ५ हजार ४ मत मात्र प्राप्त गरेपछि दुवै दलका उम्मेदवारको जमानत समेत जफत भएको छ ।

अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट संसद् छिर्न सफल भएका राप्रपाका दीपक थापा मगरको अवस्था झन् दयनीय बन्यो। उनले जम्मा १ हजार २ सय २६ मत मात्र प्राप्त गर्न सके । स्थापित दलहरूलाई किनारा लगाउँदै सोविता गौतमले निकालेको यो नतिजाले चितवन-३ मा मतदाताको प्राथमिकता पूर्ण रूपमा फेरिएको स्पष्ट संकेत गरेको छ ।


सम्बन्धित समाचार