Logo

२४ फागुन, वीरगञ्ज । मधेस विद्रोहको रापतापबाट उदाएका र झण्डै दुई दशकसम्म नेपालको राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बनेका मधेसकेन्द्रित दलहरू यसपटकको निर्वाचनमा नराम्ररी थचारिएका छन् । २०६४ सालको मधेस आन्दोलनपछि मधेसी जनताको आशा र भरोसाका केन्द्र बनेका यी शक्तिहरू अहिले आफ्नै गढमा अस्तित्वको लडाइँ लड्नुपर्ने अवस्थामा पुगेका हुन् ।

निर्वाचनको पछिल्लो परिणाम र प्राप्त तथ्याङ्कहरूलाई हेर्दा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालदेखि सीके राउतको जनमत पार्टीसम्मले यसपटक ‘राष्ट्रिय दल’को हैसियत समेत जोगाउन सकेनन् । यो पराजय केवल गणितीय हार मात्र होइन, बरु मधेसको राजनीतिमा एउटा ठूलो वैचारिक र विश्वासको संकट पनि हो ।

सत्ता मोह र आन्तरिक कलहको परिणाम

विगत १८ वर्षदेखि सरकार बनाउने र ढाल्ने खेलमा ‘किङ मेकर’ बन्दै आएका मधेसका ‘हेभीवेट’ नेताहरू यसपटक जनताको कठघरामा उभिएका छन् । उपेन्द्र यादव, शरतसिंह भण्डारी, राजेन्द्र महतो र सीके राउत जस्ता स्थापित अनुहारहरू पराजयको संघारमा पुग्नुले मधेसको मनोविज्ञान परिवर्तन भएको सङ्केत गर्छ ।

हिजोका दिनमा पहिचान र संघीयताका लागि सडक तताउने यी नेताहरूले सत्तामा पुगेपछि जनताको जनजीविका, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकतालाई बिर्सेर कुर्सीको मोहमा अल्झिएको आरोप मधेसी मतदाताले लगाएका छन् । बारम्बारको सत्ता आरोहण र पार्टीभित्रको टुटफुटले गर्दा मधेसी जनतामा यी दलहरूप्रति चरम निराशा छाएको देखिन्छ ।

‘बालेन फ्याक्टर’ र नयाँ लहरको प्रभाव

यसपटकको निर्वाचनमा मधेसकेन्द्रित दलहरू कमजोर हुनुमा राष्ट्रिय राजनीतिमा देखिएको नयाँ लहर र ‘बालेन फ्याक्टर’ले मुख्य भूमिका खेलेको विश्लेषण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नु मधेसका लागि एउटा भावनात्मक मोड बन्यो । मधेसी मूलकै युवा देशको नेतृत्वमा पुग्न सक्छ भन्ने आशाले पुराना क्षेत्रीय दलहरूको जग नै हल्लाईदियो ।

जसपा नेता मनिष सुमनले अहिलेको अवस्थालाई चलचित्रको ‘मध्यान्तर’ जस्तो भनेर चित्त बुझाउन खोजे पनि, मधेसका मतदाताले भने अब ‘पहिचान’ मात्र होइन, ‘परिणाम’ खोजेको स्पष्ट सन्देश दिएका छन्।

पार्टी एकीकरण गरेर बलियो शक्ति बन्ने दाबी गरेका जसपा नेपाल, लोसपा र तमलोपाको गठजोडलाई समेत निर्वाचन परिणामले गलत साबित गरिदिएको छ। २०७९ सालको निर्वाचनमा सम्मानजनक उपस्थिति जनाएका यी दलहरू यसपटक एउटै क्षेत्रमा जित निकाल्न नसक्ने अवस्थामा पुगेका छन् ।

विश्लेषकहरूका अनुसार, मधेसी दलहरूले केवल चुनावको मुखमा मात्र एकता गर्ने र स्वार्थ बाझिएपछि फुट्ने प्रवृत्तिलाई जनताले रुचाउन छाडेका छन् । हिजोका ‘विद्रोही’ नेताहरू आजका ‘शासक’ जस्ता देखिएपछि मधेसी जनताले विकल्पको खोजीमा अन्य शक्तिहरूलाई रोजेका हुन् ।

धराशायी बनेका मधेसका ‘स्तम्भ’हरू

यसपटकको निर्वाचनमा मधेसका भनिएका ‘हेभीवेट’ नेताहरूको पराजय निकै फराकिलो र आश्चर्यजनक देखिएको छ । निर्वाचनको पछिल्लो तथ्याङ्क अनुसार प्रमुख नेताहरूको अवस्था यस्तो छ :

उपेन्द्र यादव (सप्तरी-३) : मधेस आन्दोलनका प्रमुख सूत्रधार यादवलाई यसपटक पनि मतदाताले पत्याएनन्। उनी रास्वपाका उम्मेदवार रामजी यादवसँग पराजयको सम्मुखमा छन् । सुरुवाती गणनादेखि नै तेस्रो स्थानमा खुम्चिएका यादवको राजनीतिक भविष्यमाथि नै प्रश्न उठेको छ ।

सीके राउत (सप्तरी-२): अघिल्लो निर्वाचनमा उपेन्द्र यादवलाई भारी मतान्तरले पराजित गरेर उदाएका जनमत पार्टीका अध्यक्ष सीके राउत यसपटक आफ्नै क्षेत्रमा सुरक्षित रहन सकेनन् । उनलाई रास्वपाका उम्मेदवार अमरकान्त चौधरीले धेरै मतले पछाडि पारेका छन् ।

राजेन्द्र महतो (सर्लाही-२): मधेस राजनीतिका माहिर खेलाडी राजेन्द्र महतोको अवस्था झन् दयनीय देखिएको छ । रास्वपाका उम्मेदवार रविन महतोले करिब ४३ हजार मत ल्याउँदा महतो केवल ६ हजार मतमा सीमित हुँदै चौथो स्थानमा पुगेका छन् ।

शरदसिंह भण्डारी (महोत्तरी-२): पञ्चायतकालदेखि नै चुनाव जित्दै आएका भण्डारीलाई यसपटक रास्वपाका दीपक कुमार साहले ३२ हजार ७ सय मत ल्याई पराजित गरेका छन् । भण्डारी १० हजार मतमा मात्र खुम्चिएका छन् ।

समग्रमा, मधेस केन्द्रित दलहरूको यो पराजय उनीहरूका लागि एउटा ठूलो पाठ हो । पहिचानको राजनीतिलाई मात्र भँजाएर सधैँ सत्ताको बागडोर सम्हाल्न सकिँदैन भन्ने वास्तविकता यस निर्वाचनले देखाइदिएको छ । यदि यी दलहरूले आफूलाई सुधार गरेर जनताको दैनिक समस्यासँग जोड्न सकेनन् भने, मधेसको राजनीतिमा उनीहरूको प्रभाव सधैँका लागि अन्त्य हुने खतरा बढेको छ । मधेसी जनताले यसपटक पुराना नेताहरूलाई विश्राम दिएर नयाँ नेतृत्वको खोजीमा मत खसालेको देखिन्छ ।


सम्बन्धित समाचार