२४ फाल्गुण, काठमाडौं । मुलुकको राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको ओखलढुङ्गाको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेलले अप्रत्याशित जित निकाल्नुभएको छ ।
अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको मत गणनाको अन्तिम चरणमा पोखरेलले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कुमार लुइँटेललाई मात्र ५ मतको झिनो अन्तरले स्तब्ध पार्दै विजयको झण्डा गाड्नुभएको हो । यद्यपि निर्वाचन कार्यालयले यसको औपचारिक घोषणा गर्न भने केही प्राविधिक तयारी बाँकी रहेको जनाएको छ।
विजयी पोखरेलले कुल १३ हजार ९५३ मत प्राप्त गर्दा कांग्रेसका लुइँटेल १३ हजार ९४८ मतमा रोकिनु परेको छ । निर्वाचनको सुरुवाती चरणदेखि नै अग्रता लिइरहेका उम्मेदवारहरूबीचको यो नेक-टु-नेक प्रतिस्पर्धाले मतदाता र राजनीतिक कार्यकर्तामाझ अन्तिम समयसम्म ढुकढुकी बढाएको थियो । लुइँटेलका लागि यो पराजय निकै पिडादायी बनेको छ, जहाँ केबल ५ मतले संसद्को यात्रा तय गर्नबाट उहाँ बञ्चित हुनुभएको छ ।
यस निर्वाचनमा अन्य स्थापित शक्तिहरू भने तुलनात्मक रूपमा पछि परेका छन् । नेकपाका उम्मेदवार अम्विरबाबु गुरुङले ११ हजार २९६ मतका साथ तेस्रो स्थान सुरक्षित गर्नुभएको छ भने नेकपा एमालेकी उम्मेदवार अस्मिता थापा १० हजार ७२० मत प्राप्त गर्दै चौथो स्थानमा खुम्चिनुभएको छ । ओखलढुङ्गाको यो नतिजाले परम्परागत राजनीतिक गढहरूमा नयाँ शक्तिको उदय भएको संकेत गरेको छ ।

















