२४ फाल्गुण, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा देशभर नीलो लहर छाएको छ ।
निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये १४० क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी २५ क्षेत्रको गणनाले राजनीतिक तापक्रम ह्वात्तै बढाएको छ। यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार प्रदर्शन गर्दै १०९ सिटमा विजयको झण्डा गाडिसकेको छ भने थप १६ स्थानमा अग्रता कायम राख्दै आफ्नो पकड बलियो बनाएको छ । रास्वपाको यो अभूतपूर्व उदयले स्थापित पुराना दलहरूलाई निकै पछाडि धकेलेको छ ।
हालसम्मको नतिजा अनुसार नेपाली कांग्रेस १५ सिटमा विजयी भएको छ भने नेकपा एमालेले ७ सिटमा चित्त बुझाएको छ। त्यस्तै, नेकपाले ६ सिट, राप्रपा र श्रम संस्कृति पार्टीले १–१ सिट तथा एक जना स्वतन्त्र उम्मेदवारले संसद्को यात्रा पक्का गरेका छन् । गणना जारी रहेका क्षेत्रहरूमध्ये कांग्रेस २, एमाले ३ र श्रम संस्कृति पार्टी २ स्थानमा अगाडि देखिएका छन् । विशेषगरी सुनसरी, सप्तरी, धनुषा, मकवानपुर, गोरखा र कैलालीका केही क्षेत्रसहित १८ स्थानमा रास्वपाले आफ्नो अग्रता सुरक्षित राख्दै जितको नजिक पुगेको देखिन्छ ।
इलाम-१, सङ्खुवासभा र अछाम-२ मा एमालेका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् भने सिन्धुपाल्चोक-२ मा नेकपाको अग्रता रहेको छ। त्यस्तै, भोजपुर-१ र सुनसरी-१ मा श्रम संस्कृति पार्टीले अग्रता कायम राख्दै सबैलाई आश्चर्यचकित पारेको छ ।
दुर्गम जिल्लाहरू मुगु र बाजुरामा पनि गणना अन्तिम चरणमा पुगेकाले अबको केही घण्टाभित्रै मुलुकको नयाँ राजनीतिक तस्बिर पूर्ण रूपमा स्पष्ट हुने देखिन्छ । यो निर्वाचनले नेपाली राजनीतिमा शक्ति सन्तुलनको नयाँ भाष्य कोरिसकेको छ, जहाँ नयाँ दलहरूको वर्चस्व र पुराना शक्तिहरूको खुम्चिँदो प्रभाव स्पष्ट झल्किन्छ ।

















