२४ फाल्गुण, काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेका प्रभावशाली नेता शेरधन राईलाई आफ्नै गृहजिल्ला भोजपुरमा ठूलो धक्का लागेको छ ।
धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीले सुनसरी र खोटाङपछि भोजपुरमा पनि आफ्नो विजयी यात्रा जारी राख्दै एमालेको विरासत भत्काइदिएको हो । आइतबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार श्रम संस्कृति पार्टीका ध्रुवराज राईले पूर्वमुख्यमन्त्री शेरधन राईलाई १ हजार ९१३ मतान्तरले पराजित गर्दै संसद्को यात्रा तय गर्नुभएको छ ।
विजेता ध्रुवराज राईले कुल १६ हजार ६६३ मत प्राप्त गर्दा एमालेका शेरधन राई १४ हजार ७५० मतमा रोकिनुभयो। सत्ता राजनीति र प्रदेश सरकारको नेतृत्व गरिसकेका शेरधनका लागि यो पराजय अनपेक्षित र चुनौतीपूर्ण बनेको छ।
त्यस्तै, नेपाली कांग्रेसका वालकृष्ण थापाले ८ हजार ६७० मतका साथ तेस्रो स्थान सुरक्षित गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद ओझाले ६ हजार १०२ मत प्राप्त गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टीका अजम्बर काङमाङ राई ५ हजार ७२८ मतमा सीमित हुनुभएको छ ।
श्रम संस्कृति पार्टीका लागि यो निर्वाचन एउटा ऐतिहासिक कोशेढुङ्गा सावित भएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ र महासचिव आरेन राई खोटाङबाट निर्वाचित भइसकेको पृष्ठभूमिमा भोजपुरको यो तेस्रो जितले पूर्वी पहाडमा श्रम संस्कृतिको राजनीतिक प्रभाव बलियो हुँदै गएको पुष्टि गरेको छ ।
राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राईले ८१२ मत प्राप्त गरेको यस प्रतिस्पर्धामा मतदाताले परम्परागत ठूला दल र तिनका हेभिवेट नेताहरू भन्दा नयाँ वैकल्पिक शक्तिलाई प्राथमिकता दिएको देखिन्छ ।

















