२६ फाल्गुण, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावी नतिजापश्चात् नैतिकताको आधारमा पदबाट राजीनामा दिने मनस्थिति बनाएपछि पार्टीभित्र यसको तरङ्ग फैलिएको छ ।
थापाको यस्तो तयारी सार्वजनिक भएसँगै नेता चन्द्र भण्डारीले उनलाई राजीनामाको बाटो नरोज्न र बरु छिटो महाधिवेशनमा गएर संगठन सुदृढीकरणमा लाग्न सुझाव दिएका छन् । नेता भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै अहिलेको समय राजीनामा दिएर जिम्मेवारीबाट पन्छिने नभई प्राप्त चुनौतीलाई सामना गर्दै अघि बढ्ने बेला भएको उल्लेख गरेका छन् ।
पार्टीको पछिल्लो चुनावी अवस्था र संगठनभित्र देखिएको शिथिलतालाई इंगित गर्दै भण्डारीले समस्याबाट भाग्नुभन्दा त्यसको उपचार खोज्नु नै साँचो नेतृत्वको धर्म भएको बताएका छन् । उनले गगन थापालाई सम्बोधन गर्दै नैतिकताको नाममा पद त्याग्नुभन्दा यथासक्य चाँडो पार्टीको महाधिवेशन बोलाएर नयाँ उर्जाका साथ अघि बढ्नु नै समयसापेक्ष र जिम्मेवार कदम हुने स्पष्ट पारेका छन् । युवा पुस्ताले कांग्रेसलाई छोड्दै गएको आजको यथार्थलाई स्वीकार गर्दै पार्टीलाई जोगाउनु नै यतिबेलाको मुख्य नैतिक दायित्व भएको उनको ठहर छ ।
कांग्रेसलाई पुनर्जीवन दिन सम्भव रहेको दाबी गर्दै भण्डारीले यसका लागि दृढ इच्छाशक्ति र साहसको खाँचो रहेको औंल्याएका छन् । पार्टीभित्र संकट गहिरिँदै गएको समयमा नेतृत्वले मैदान छोड्न नहुने भन्दै उनले संगठनलाई औषधि खुवाएर बचाउनुपर्नेमा जोड दिएका छन् । विशेषगरी चुनावी नतिजामा रास्वपा जस्ता नयाँ शक्तिहरूको उदय र कांग्रेसको खुम्चिँदो प्रभावलाई लिएर थापाले राजीनामाको सोच बनाएको सन्दर्भमा भण्डारीको यो सुझावलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

















