Logo

२६ फाल्गुण, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हालै सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले प्राविधिक हार व्यहोरे पनि आम जनताको मन जित्न सफल भएको दाबी गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत निर्वाचनको समीक्षा गर्दै घिसिङले चुनावी नतिजा सोचेजस्तो नआए पनि जनताले दिएको माया र सद्भाव नै आफ्नो लागि सबैभन्दा ठूलो ऊर्जा भएको उल्लेख गरेका छन् ।

उनले परिवर्तनको ठूलो अपेक्षासहित भारी जनमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुशासन र समृद्धिको यात्राका लागि शुभकामना दिँदै नयाँ सरकारका राम्रा काममा समर्थन र गलत कदममा सडकबाटै रचनात्मक खबरदारी गर्ने स्पष्ट पारेका छन् ।

विकासको धिमा गति र प्रशासनिक कमजोरीको आलोचना

निर्वाचनपछिको आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा घिसिङले देशको वर्तमान प्रशासनिक र विकास प्रणालीमाथि कडा प्रहार गरेका छन् । एउटा सामान्य पुल निर्माण सम्पन्न हुन १५ वर्ष लाग्ने र काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने फितलो कानुनी र प्रशासनिक परिपाटीले देशको विकासलाई बन्धक बनाएको उनको तर्क छ ।

समस्या घोषणापत्रमा नभई कार्यान्वयनमा रहेको औंल्याउँदै उनले बजेट खर्च हुन नसक्ने र जनताका आशा निराशामा बदलिने चक्र अब अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । उनले आफ्नो पार्टी केवल राजनीतिक प्रतिस्पर्धाका लागि मात्र नभई भ्रष्टाचार र अकर्मण्यताविरुद्धको एउटा बलियो अभियानका रूपमा जन्मिएको समेत बताएका छन् ।

विगतका उपलब्धि र आगामी यात्राको संकल्प

विगतमा आफूले विभिन्न सार्वजनिक जिम्मेवारी सम्हाल्दा हासिल गरेका नतिजाहरूको स्मरण गर्दै घिसिङले आफूहरू परिणाममुखी काम गर्ने पक्षमा रहेको बताएका छन् । १८ घण्टा लामो लोडसेडिङको अन्त्य, ९९ प्रतिशत घरधुरीमा विद्युतीकरण र नेपाललाई विद्युत् निर्यात गर्ने अवस्थामा पुर्‍याएको सन्दर्भ उल्लेख गर्दै उनले कामले नै जनताको मन जितेको दाबी गरे ।

मेलम्चीको पानी सुचारु गर्नेदेखि फोहोर व्यवस्थापनका अवरोध हटाउनेसम्मका काम गरे पनि यसपटक त्यसलाई चुनावी मतमा बदल्न नसकेको उनले स्वीकार गरे । निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै उनले उज्यालो नेपाल निर्माणको आफ्नो लक्ष्यबाट विचलित नभई अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार