Logo

२६ फाल्गुण, काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न प्रमुख सहरहरूमा वायु प्रदूषणको तह निकै खतरनाक अवस्थामा पुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ ।

काठमाडौं, पोखरा, विराटनगर लगायत तराईका विभिन्न क्षेत्रको हावामा स्वास्थ्यका लागि हानिकारक मानिने सुक्ष्म कण-पीएम २.५० को मात्रामा उल्लेख्य वृद्धि भएको भन्दै मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको हो । श्वासप्रश्वास र छालाको माध्यमबाट शरीरभित्र पस्ने यस्ता सुक्ष्म कणहरूले मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन दुवै खाले गम्भीर संकट निम्त्याउन सक्ने जोखिम बढेको छ ।

स्वास्थ्यमा गम्भीर जोखिम र संवेदनशील समूहलाई चेतावनी

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार यो प्रदूषणले सामान्य आँखा चिलाउने वा पाक्ने समस्यादेखि लिएर मुटु, मिर्गौला, र श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग तथा क्यान्सरसम्म गराउन सक्छ । विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीहरू यो प्रदूषणबाट उच्च जोखिममा रहेकाले उनीहरूलाई विशेष सावधानी अपनाउन मन्त्रालयले सचेत गराएको छ । वायुमण्डलको तल्लो तहमा हानिकारक कणहरू जम्मा हुने समय भएकाले बिहान र बेलुकाको समयमा मर्निङ वाक वा इभिनिङ वाकमा निस्कने कार्यलाई तत्काल रोक्न समेत सुझाव दिइएको छ ।

व्यक्तिगत सुरक्षा र सावधानीका उपायहरू

अत्यावश्यक कामले घरबाहिर निस्कनै पर्ने अवस्थामा अनिवार्य रूपमा गुणस्तरीय मास्कको प्रयोग गर्न र आँखा जोगाउन चस्मा लगाउन मन्त्रालयले आग्रह गरेको छ । त्यसैगरी, छालालाई प्रदूषणको सिधा सम्पर्कबाट बचाउन शरीर पूरै छोपिने गरी कपडा र टोपी लगाउनु यतिबेला सुरक्षित रहने उत्तम विकल्प हुने बताइएको छ । मन्त्रालयले बाहिरी वातावरणमा धुलो र धुवाँको मात्रा बढी हुने समयमा घरका झ्यालढोकाहरू बन्द राख्न र प्रदूषणबाट जोगिन व्यक्तिगत तहबाटै सचेत बन्न समेत अनुरोध गरेको छ ।

प्रदूषण न्यूनीकरणका लागि अन्तर–मन्त्रालय समन्वय

वायु प्रदूषणको यो भयावह अवस्थालाई नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले अन्य सरोकारवाला मन्त्रालयहरूसँगको समन्वयलाई तीव्रता दिएको छ । वातावरण, उद्योग, भौतिक पूर्वाधार, कृषि तथा वन मन्त्रालयसँग प्रदूषणका मुख्य स्रोतहरू जस्तै सवारीसाधनको धुवाँ, कलकारखानाको उत्सर्जन, जथाभावी फोहोर र प्लास्टिक जलाउने कार्य तथा वन डढेलो नियन्त्रणका विषयमा निरन्तर छलफल भइरहेको छ ।

मन्त्रालयले दीर्घकालीन रूपमा प्रदूषण न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै तत्कालका लागि भने स्वास्थ्य जोखिम कम गर्नु नै प्राथमिकता रहेको स्पष्ट पारेको छ ।


सम्बन्धित समाचार