२६ फागुन,काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रको परिणाम घोषणा गरिसकेको छ भने समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको छ। यस आधारमा नयाँ प्रतिनिधिसभामा दलहरूको अवस्था स्पष्ट भइसकेको छ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा ५० लाख भन्दा बढी मत पाएको छ। प्रत्यक्षमा १८ सिट प्राप्त गरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले समानुपातिकमा पनि दोस्रो स्थान कायम गर्दै १७ लाख भन्दा बढी मत पाएको छ।
प्रत्यक्षतर्फ नौ सिटसहित तेस्रो रहेको नेकपा एमालेले समानुपातिकमा १४ लाखभन्दा बढी मत पाएको छ। प्रत्यक्षमा चौथो स्थानमा रहेको नेकपा, पाँचौं रहेको श्रमशक्ति पार्टी र एक सिटसहित छैटौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकमा तीन प्रतिशतको थ्रेसहोल्ड पार गरेका छन्।
यसले यी ६ दललाई राष्ट्रिय दलको मान्यता पाउने अवसर दिलाएको छ। विगतमा राष्ट्रिय दल रहेका जसपा–नेपाल र जनमत पार्टीले यसपटक प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेनन् र समानुपातिकमा पनि थ्रेसहोल्ड पार गर्ने सम्भावना छैन।
राष्ट्रिय दलले अर्को चुनावसम्मका लागि आफ्नो चुनाव चिह्न सुरक्षित राख्न सक्ने कानूनी व्यवस्था छ। राष्ट्रिय दल नभए पनि दुई वा बढी सांसद भएका दलहरूलाई संसदीय दलको कार्यालयसहित सुविधाहरू उपलब्ध गराइन्छ र पार्टीले आफ्ना सांसदहरूलाई ह्विप जारी गर्न सक्ने अभ्यास रहेको छ।

















