२७ फागुन,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला अध्यक्ष तथा पर्सा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हरि पन्तले आफ्नो विजयपछि एक शुभकामना सन्देश जारी गर्दै मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताप्रति हार्दिक आभार प्रकट गरेका छन् ।
पन्तले आफूसँगै जिल्लाका अन्य तीन निर्वाचन क्षेत्रबाट पनि रास्वपाका उम्मेदवारहरूको विजयलाई परिवर्तनको लहरको रूपमा व्याख्या गर्दै देशमा भ्रष्टाचार र कुशासन अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सन्देशमा पन्तले भनेका छन्, “पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा आफू सहित जिल्लाका चारै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गराउनु भएका सम्पूर्ण जिल्लावासी, मतदाता, शुभेच्छुक, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ता तथा साथीहरू र परिवारका सदस्यहरू प्रति हार्दिक आभार प्रकट गर्दछु ।”
उनले मतदाताहरूको साथ, , सहयोग र मार्गदर्शनले नेपालभरि परिवर्तनको लहर आएको दाबी समेत गरेका छन् । “तपाईँहरूको साथ, सहयोग र मार्गदर्शनले आज हामीले देशै भरि परिवर्तनको लहर ल्याउन सफल भएका छौँ,” उनले उल्लेख गरेका छन् ।
पन्तका अनुसार, आगामी दिनहरूमा उनीसँगै पर्साका चारै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरू परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचार, बेथिति र कुशासनलाई अन्त्य गरी विधिको शासन स्थापना गर्ने जिम्मेवारी रहने छ । उनले देशलाई प्रगतिको बाटोमा लैजाने आफूहरूको यात्रामा सबैको निरन्तर सुझाव, सल्लाह, माया र आशीर्वादको आवश्यकता रहने बताएका छन् । “यस यात्रामा सहकार्य गर्नुहुने तपाईँ सबैको निरन्तर सुझाव, सल्लाह, माया र आशीर्वादको मलाई आवश्यकता रहनेछ,” उनले सन्देशमा उल्लेख गरेका छन् ।
पर्सा जिल्लामा रहेको चार वटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी भएका छन् । पर्सा – १ मा पन्त निर्वाचित भएका छन् भने पर्सा – २ मा रास्वपा कै उम्मेदवार सुशील कुमार कानु, पर्सा – ३ मा पनि रास्वपाका रमाकान्त चौरसिया र पर्सा – ४ मा रास्वपाका टेक बहादुर शाक्य ऐतिहासिक मतका साथ निर्वाचित भएका छन् । समानुपातिक तर्फ पनि पर्सामा रास्वपा नै पहिलो पार्टी बनेको छ । रास्वपाका उम्मेदवारहरूले पर्सा जिल्लामा उल्लेखनीय सफलता हासिल गरेको निर्वाचनलाई राजनीतिक विश्लेषकहरूले परिवर्तनको सङ्केतको रूपमा हेरेका छन् । उनीहरूको विजयले स्थानीय स्तरमा पार्टीको प्रभाव विस्तार गरेको छ भने राष्ट्रिय स्तरमा भ्रष्टाचार विरोधी अभियानलाई बल पुर्याउने अपेक्षा गरिएको छ । पार्टीका अन्य नेताहरूले पनि पन्तको सन्देशलाई समर्थन गर्दै आगामी कार्य योजनामा एकजुट हुने बताएका छन् ।

















