२७ फाल्गुण, काठमाडौँ । रुससँगको लामो युद्धका क्रममा ड्रोन प्रविधिसँग जुध्न अभ्यस्त बनेको युक्रेनले अब आफ्नो सैन्य सीपलाई खाडी राष्ट्रहरूसम्म विस्तार गर्ने भएको छ ।
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले इरानी ड्रोन आक्रमणको जोखिम झेलिरहेका खाडी मुलुकहरूलाई प्राविधिक सहयोग र अनुभव बाँड्न आफ्ना सैन्य विज्ञहरू त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिनुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत सन्देश प्रवाह गर्दै जेलेन्स्कीले ‘अट्याक ड्रोन’ हरूलाई विफल पार्ने मामिलामा युक्रेनसँग अहिले विश्वकै उत्कृष्ट र सफल अनुभव रहेको दाबी गर्नुभएको छ । उहाँका अनुसार युक्रेनी अनुभवको साहायता बिना मध्यपूर्व मात्र होइन, युरोप र अमेरिकाका लागि समेत बलियो सुरक्षा कवच निर्माण गर्न कठिन हुने देखिन्छ ।
राष्ट्रपति जेलेन्स्कीले यो प्राविधिक सहयोगलाई निस्स्वार्थ सेवा भन्दा पनि ‘पारस्परिक सुरक्षा रणनीतिका’ रूपमा अघि सार्नुभएको छ। विगत चार वर्षदेखि रुसी र इरानी प्रविधिका ड्रोनहरूसँग लडिरहेको युक्रेनले खाडी मुलुकहरूलाई सहयोग गर्दा बदलामा युक्रेनको आफ्नै वायु रक्षा प्रणाली सुदृढ गर्न ती राष्ट्रहरूले पनि सहयोग गर्नुपर्ने सर्त राखेको छ । विशेष गरी फेब्रुअरीको अन्तिम साता इरानमा भएको संयुक्त सैन्य आक्रमण र त्यसपछि इरानले इजरायल तथा अमेरिकी बेस क्याम्पहरूलाई लक्षित गरी सुरु गरेको जवाफी हमलाका बीच जेलेन्स्कीको यो घोषणालाई विश्व राजनीतिमा निकै चासोका साथ हेरिएको छ ।
इरानका सर्वोच्च नेता अली खामेनीलगायतका उच्च नेतृत्वमाथि भएको आक्रमणपछि मध्यपूर्वमा युद्धको रापताप बढ्दै जाँदा युक्रेनले आफ्नो युद्धकालीन दक्षतालाई कूटनीतिक बार्गेनिङको हतियार बनाएको देखिन्छ। एकातिर खाडी राष्ट्रहरू इरानी ड्रोनको आक्रमणबाट त्रसित छन् भने अर्कोतिर युक्रेनलाई थप आधुनिक हतियार र सुरक्षा प्रणालीको खाँचो छ ।
यस्तो अवस्थामा जेलेन्स्कीले सैन्य विज्ञहरू पठाएर एकातिर इरानको प्रभावलाई कमजोर पार्ने र अर्कोतिर युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने दोहोरो रणनीति अख्तियार गर्नुभएको छ ।

















