२७ फाल्गुण, काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै मुलुकको राजनीतिमा एउटा ठूलो परम्परागत शक्ति सन्तुलन भत्किएर नयाँ समीकरण तयार भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटसहित कुल १८२ सिट जितेर संसद्को सबैभन्दा ठूलो र शक्तिशाली दल बनेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्नेमा रास्वपा मात्र २ सिटले पछाडि परेको छ । कुल खसेको मतमध्ये करिब ४७ दशमलव ५ प्रतिशत मत रास्वपा एक्लैले प्राप्त गरेपछि नेपाली राजनीतिमा वैकल्पिक शक्तिको ऐतिहासिक वर्चस्व स्थापित भएको छ ।
पुराना दलको नमिठो पराजयस् कांग्रेस र एमालेको शक्ति खुम्चियो
यस निर्वाचनले दशकौँदेखि नेपाली राजनीतिमा हालीमुहाली गर्दै आएका पुराना दलहरूलाई निकै कमजोर बनाइदिएको छ। दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेस प्रत्यक्ष र समानुपातिक गरी मात्र ३८ सिटमा सीमित भएको छ, जुन उसको अघिल्लो हैसियतको तुलनामा ५० प्रतिशतभन्दा बढीको गिरावट हो। त्यस्तै, नेकपा एमालेको अवस्था झन् दयनीय देखिएको छ । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ पहिलो बनेको एमाले यसपटक प्रत्यक्षमा ९ र समानुपातिकमा १६ गरी कुल २५ सिटमा खुम्चिएको छ। नेपाल कम्युनिस्ट पार्टीले १७ सिट सुरक्षित गर्दा राप्रपाले ५ सिट पाएको छ। मधेस केन्द्रित दलहरू जसपा नेपाल र जनमत पार्टीले यसपटक नमिठो हार बेहोर्दै समानुपातिकको ुथ्रेसहोल्डु समेत कटाउन सकेन न्।
हर्क साम्पाङको सरप्राइज इन्ट्री र राष्ट्रिय दलको नयाँ सूची
यो निर्वाचनमा सबैभन्दा रोचक पक्ष हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ को उदय बनेको छ । गठन भएको चार महिनामै यो पार्टीले प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ४ गरी कुल ७ सिटसहित राष्ट्रिय दलको मान्यता पाएको छ । यसपटकको संसद्मा रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा गरी जम्मा ६ वटा दलले मात्र राष्ट्रिय दलको हैसियतमा आफ्नो उपस्थिति जनाउने भएका छन् । निर्वाचन आयोगले ‘सेन्ट लग’ विधिबाट सिट बाँडफाँडको प्रक्रिया सुरु गरिसकेको छ र छिट्टै ११० जना समानुपातिक सांसदको नामावली टुङ्गो लगाउने तयारीमा छ ।
शक्तिशाली सरकारको आधार र संवैधानिक बाटो
रास्वपाले पाएको यो जनमतले मुलुकमा लामो समयदेखिको अस्थिर राजनीतिको अन्त्य हुने संकेत गरेको छ । दुई तिहाइको नजिक पुगेको रास्वपाले अब साना दल वा स्वतन्त्र सांसदहरूको सहयोगमा एकलौटी जस्तै शक्तिशाली सरकार बनाउन सक्ने बलियो आधार खडा भएको छ । निर्वाचन आयोगले समानुपातिक सांसदहरूको नाम सिफारिस गर्न दलहरूलाई तीन दिनको समय दिएर पत्राचार गर्नेछ । यो प्रक्रिया पूरा भई नयाँ सांसदहरूले प्रमाणपत्र पाएलगत्तै शीतल निवासबाट नयाँ सरकार गठनको औपचारिक आह्वान हुनेछ, जसले नेपालको शासन व्यवस्थामा नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।

















