Logo

२७ फागुन,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका पूर्वमन्त्री प्रदीप यादव ले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्।

नेपाल निर्वाचन आयोग को नियमअनुसार बुधबार जिल्ला निर्वाचन कार्यालय पर्सामा खर्च विवरण बुझाउँदै उनले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका हुन्। यादवले आफ्नो निर्वाचन प्रतिनिधि जनत अन्सारी मार्फत प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम खर्च विवरण पेश गरेका थिए।

आयोगमा बुझाइएको विवरण अनुसार यादवले चुनावी अभियानमा कुल १० लाख २४ हजार ९२५ रुपैयाँ खर्च गरेका छन्। खर्च विवरणमा सबैभन्दा धेरै २ लाख ८४ हजार ७६० रुपैयाँ प्रचार–प्रसार सामग्री खरिद तथा प्रिन्टमा खर्च भएको उल्लेख छ।

त्यस्तै मतदाता नामावली खरिदमा ३ हजार, मनोनयन दर्तामा १० हजार, सवारीसाधन भाडामा १ लाख ९० हजार, गोष्ठी तथा अन्तरक्रियामा ६४ हजार ९७५, इन्धनमा १ लाख ५३ हजार ६४० तथा अन्य प्रचार–प्रसार सामग्रीमा १ लाख ५२ हजार ५५० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

यसैगरी कार्यालय सञ्चालन तथा प्रतिनिधि परिचालनमा ८६ हजार, छापा तथा विद्युतीय माध्यम र सामाजिक सञ्जालमा २५ हजार, र अन्य विविध शीर्षकमा ५५ हजार रुपैयाँ खर्च भएको यादवले जनाएका छन्।

पर्सा–१ मा यसपटक यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला सभापति हरि पन्त सँग पराजित भएका थिए। यसअघि भने यादव सोही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्।


सम्बन्धित समाचार