२७ फागुन,वीरगञ्ज । पकहा मैनपुर गाउँपालिका, पर्सामा नेकपा (एमाले) का गाउँपालिका कमिटी अध्यक्ष अकलेश कुमार साह ले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। साहसँगै एमाले गाउँपालिका कमिटी सचिव राजेश सहनी र जिल्ला कमिटी सदस्य प्रमोद पटेल ले पनि एमाले छाड्ने घोषणा गरेका छन्।
बुधबार दिउँसो सामाजिक सञ्जाल Facebook मा लामो स्टाटस लेख्दै साहले आजकै मितिदेखि लागू हुने गरी आफूले पार्टीका सबै जिम्मेवारी तथा साधारण सदस्यता समेत परित्याग गरेको बताएका हुन्।
साहले सार्वजनिक गरेको वक्तव्यमा आफू वि.सं. २०७० सालदेखि एमालेमा सक्रिय राजनीतिमा लाग्दै आएको उल्लेख गरेका छन्। उनले उक्त अवधिमा पकहा मैनपुर गाउँपालिका कमिटी अध्यक्षका रूपमा संगठन विस्तार र सुदृढीकरणका लागि काम गरेको दाबी गरेका छन्। साथै उनले अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ को केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश इन्चार्जका रूपमा समेत विभिन्न जिम्मेवारी सम्हाल्दै पार्टी र संगठनलाई बलियो बनाउन भूमिका खेलेको बताएका छन्।
उनले आफूले पार्टीभित्र इमानदारी, निष्ठा र समर्पणका साथ काम गर्दै विभिन्न राजनीतिक तथा संगठनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको उल्लेख गरेका छन्। तर पछिल्लो समय पार्टीभित्र देखिएको प्रवृत्तिले आफूलाई गम्भीर रूपमा निराश बनाएको उनको भनाइ छ।
साहका अनुसार पछिल्ला वर्षहरूमा एमालेभित्र विधि, पद्धति, सिद्धान्त र संगठनात्मक मूल्य–मान्यताभन्दा माथि नातावाद, कृपावाद, व्यक्तिवाद तथा आर्थिक चलखेलको संस्कृति तीव्र रूपमा मौलाउँदै गएको छ। उनले पार्टीको मूल आदर्श, कार्यकर्ताको त्याग र योगदानलाई बेवास्ता गर्दै सीमित व्यक्तिहरूको स्वार्थ र गुटगत स्वार्थलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको आरोप लगाएका छन्।
उनका अनुसार पार्टीभित्र निर्णय प्रक्रियामा पारदर्शिता नअपनाइने, संगठनलाई व्यक्तिगत स्वार्थको साधन बनाइने तथा इमानदारीपूर्वक वर्षौंदेखि योगदान दिएका कार्यकर्ताहरूलाई उपेक्षा गर्ने प्रवृत्ति बढ्दै गएको छ। यस्ता गतिविधिले पार्टीको नैतिक आधार कमजोर बनाउँदै गएको उनको भनाइ छ।
“यस्तो विकृत, अपारदर्शी र सिद्धान्तविहीन अभ्यासलाई मौन समर्थन गर्दै बस्नु मेरो राजनीतिक सिद्धान्त, नैतिकता र आत्मसम्मानसँग कदापि मेल खाँदैन,” साहले फेसबुकमार्फत सार्वजनिक गरेको वक्तव्यमा उल्लेख गरेका छन्।
उनले पार्टीभित्र सुधारको कुनै स्पष्ट संकेत नदेखिएको र संगठनलाई गलत दिशातर्फ लैजाने गतिविधि निरन्तर भइरहेकाले यस्तो वातावरणमा आफू बसिरहनु उपयुक्त नठानेको बताएका छन्। त्यसैले आजकै मितिदेखि लागू हुने गरी एमालेसँग सम्बन्धित आफ्ना सम्पूर्ण जिम्मेवारी तथा साधारण सदस्यताबाट अलग हुने निर्णय गरेको उनले बताएका छन्।
साहका अनुसार आफूले एक्लै मात्र होइन, आफू निकटका अन्य नेताहरूले पनि पार्टी परित्याग गर्ने निर्णय गरेका छन्। एमाले गाउँपालिका कमिटी सचिव राजेश सहनी र जिल्ला कमिटी सदस्य प्रमोद पटेलले पनि पार्टीको वर्तमान अवस्था र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एमाले छाड्ने निर्णय गरेको उनले बताएका छन्।
तीन जना सक्रिय नेताले एकैसाथ एमाले परित्याग गर्ने निर्णय गरेपछि पकहा मैनपुर गाउँपालिकाको स्थानीय राजनीतिमा यसको प्रभाव पर्ने आकलन गरिएको छ। स्थानीय राजनीतिक वृत्तमा उनीहरूको कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
साहले आगामी दिनमा सत्य, पारदर्शिता, सामाजिक न्याय र जनताको हितका पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सामाजिक तथा राजनीतिक रूपमा सक्रिय रहँदै जनताको हक–हित, सुशासन र समावेशी विकासका लागि आवाज उठाइरहने बताएका छन्।
उनले आफ्नो राजनीतिक यात्रा जनताको विश्वास र सहयोगकै कारण अघि बढेको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको सेवा र सामाजिक न्यायको पक्षमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले पार्टी परित्याग गरे पनि समाज र जनताको पक्षमा काम गर्ने आफ्नो प्रतिबद्धता यथावत रहने बताएका छन्।
<

















