Logo

२८ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ मा रहेको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) परिसरमा निर्माण भइरहेको प्लास्टिकजन्य फोहोर प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ।

वीरगञ्ज  महानगर क्षेत्रबाट संकलन हुने प्लास्टिकजन्य फोहोरलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी पुनःप्रयोगमा ल्याउने उद्देश्यले उक्त प्लान्ट निर्माण भइरहेको हो।

महानगरपालिकाको वन तथा वातावरण शाखा प्रमुख राकेश साहका अनुसार सूर्य नेपाल प्रालिको करिब ४ करोड रुपैयाँको लगानीमा प्लान्ट निर्माण भइरहेको छ। निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको र छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए।

उनका अनुसार निर्माणाधीन प्लान्टले दैनिक करिब २० टन प्लास्टिकजन्य फोहोर प्रशोधन गर्ने क्षमता राख्नेछ। वीरगन्ज महानगर क्षेत्रमा हाल दैनिक करिब ६० देखि ६५ टन फोहोर संकलन हुने गरेको छ। तीमध्ये प्लास्टिकजन्य फोहोर छुट्याएर प्लान्टमार्फत प्रशोधन गरिने व्यवस्था मिलाइने साहले जानकारी दिए।

गत असोजमा वीरगञ्ज महानगरपालिका, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्य नेपाल प्रालिबीच फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता भएपछि यो परियोजना अघि बढाइएको हो। उक्त सम्झौताअनुसार निजी क्षेत्रको लगानी र सहकार्यमा महानगरको फोहोर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

महानगर प्रमुख राजेशमान सिंहले फोहोर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउने नीति अनुसार प्रशोधन केन्द्रभित्र आधुनिक प्लान्ट निर्माण गरिएको बताए। उनका अनुसार प्लान्ट सञ्चालनमा आएपछि महानगरभित्रबाट दैनिक संकलन हुने प्लास्टिकजन्य फोहोर छुट्याएर प्रशोधन गरिनेछ र त्यसलाई पुनः प्रयोग गर्न मिल्ने सामग्रीका रूपमा उत्पादन गरिनेछ।

निर्माणाधीन प्लान्टको प्रगति बुझ्न बुधबार महानगर प्रमुख सिंह र सूर्य नेपाल प्रालिका उद्योग प्रमुख सुरेश काजी महर्जनसहितको टोली निर्माण स्थल पुगेको थियो। टोलीले निर्माणको अवस्था, प्राविधिक पक्ष तथा आगामी सञ्चालन प्रक्रियाबारे स्थलगत जानकारी लिएको थियो।

निर्माण कार्य सम्पन्न भएपछि उक्त प्लान्ट वीरगन्ज महानगरपालिकालाई हस्तान्तरण गरिने सूर्य नेपाल प्रालिका उद्योग प्रमुख महर्जनले बताए।


सम्बन्धित समाचार