३० फागुन,वीरगञ्ज ।औषधि व्यवस्था विभागको पर्सास्थित वीरगञ्ज शाखा कार्यालयले चालु आर्थिक वर्षमा ४१ वटा औषधि पसलको प्रमाणपत्र निलम्बन गरेको छ।
शाखा प्रमुख शम्भु साहका अनुसार अनुगमनका क्रममा विभिन्न कैफियत भेटिएपछि ती पसलमाथि कारबाहीस्वरूप प्रमाणपत्र निलम्बन गरिएको हो।
कार्यालयबाट खटिएको अनुगमन टोलीले चालु आर्थिक वर्षमा हालसम्म २ सय ८० वटा औषधि पसलको अनुगमन गरिसकेको छ। यस आर्थिक वर्षमा ४ सय ६० औषधि पसल निरीक्षण गर्ने लक्ष्य राखिएकोमा हालसम्म ६० दशमलव ८ प्रतिशत प्रगति हासिल भएको साहले जानकारी दिए।
अनुगमनका क्रममा दर्ता नगरी सञ्चालनमा रहेका औषधि पसलमध्ये ३२ वटा पसल फागुन महिनामै दर्ता प्रक्रियामा आएका छन्।
त्यसैगरी, चालु आर्थिक वर्षमा औषधि पसलसम्बन्धी २५ वटा उजुरी कार्यालयमा प्राप्त भएकोमा १८ वटा उजुरीको फछ्र्यौट भइसकेको छ।
यस अवधिमा अनुगमन टोलीले एक दर्जन औषधि उत्पादक उद्योगको निरीक्षण समेत गरेको शाखा प्रमुख साहले बताए।
















