३० फागुन,काठमाडौं । मध्यपूर्वमा जारी युद्ध १५औँ दिनमा झन् चर्किँदै गएको छ। इजरायल, इरान र क्षेत्रीय समूहहरूबीच मिसाइल, ड्रोन र रकेट आक्रमण तीव्र बन्दै जाँदा मानवीय तथा आर्थिक संकट गहिरिँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जना स्वास्थ्यकर्मी मारिएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। लेबनानमा हालसम्म ७ सय ७३ भन्दा बढी मानिसको ज्यान गइसकेको बताइएको छ।
यसैबीच हिजबुल्लाह समूहले इजरायलको उत्तरी क्षेत्रमा ड्रोन तथा रकेट आक्रमण गरेको दाबी गरेको छ। उता इरानले पनि इजरायलमाथि मिसाइल प्रहारलाई निरन्तरता दिएको जनाइएको छ। खाडी क्षेत्रमा समेत तनाव बढ्दै गएको छ।
बहराइनले युद्ध सुरु भएयता १ सय २४ मिसाइल र २ सय ३ ड्रोन अवरोध गरेको जनाएको छ। कतार, साउदी अरेबिया, कुवेत र संयुक्त अरब इमिरेट्सले पनि आफ्ना क्षेत्रमा भएका आक्रमण विफल पारिएको बताएका छन्।
यसैबीच अमेरिकी सेनाले इरानको रणनीतिक खार्ग टापुमा आक्रमण गरेपछि विश्व ऊर्जा बजारमा ठूलो असर पर्ने अनुमान गरिएको छ। कच्चा तेलको मूल्य फेरि प्रतिव्यारेल १ सय डलरभन्दा माथि पुगेको बताइएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दक्षिणी लेबनानका प्रभावितका लागि झण्डै ३० करोड डलर बराबरको आपतकालीन सहायता कार्यक्रम घोषणा गर्दै युद्धरत पक्षहरूलाई तत्काल युद्धविराम गर्न आग्रह गरेका छन्।
















