१ चैत्र, काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को आठ महिना (फागुन मसान्त) सम्ममा सरकारले कुल ७ खर्ब ४७ अर्ब २८ करोड ५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको ताजा विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा ३ दशमलव ७५ प्रतिशतको सामान्य वृद्धि देखिए पनि सरकारले तोकेको लक्ष्य भेट्टाउन भने हम्मेहम्मे परेको छ । फागुन मसान्तसम्म ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा हालसम्म लक्ष्यको जम्मा ८२ दशमलव १० प्रतिशत मात्र प्रगति हासिल भएको छ । फागुन महिनामा मात्रै सरकारले ८२ अर्ब २५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ ।
भन्सार, भ्याट र अन्तःशुल्कमा सुधारको संकेत
राजस्वका प्रमुख वैदेशिक र आन्तरिक स्रोतहरूमा भने केही सकारात्मक संकेत देखिएका छन् । समीक्षा अवधिमा मूल्य अभिवृद्धि कर (भ्याटं) ७ दशमलव ३५ प्रतिशतले बढेर २ खर्ब २५ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ, जसमा उत्पादन र पैठारी दुवै क्षेत्रको योगदान उत्साहजनक छ । त्यस्तै, अन्तःशुल्क संकलनमा १० दशमलव ४४ प्रतिशतको दोहोरो अंकको सुधार आउँदै १ खर्ब २० अर्ब ३६ करोड रुपैयाँ संकलन भएको छ । भन्सार महसुलतर्फ पनि अघिल्लो वर्षको तुलनामा ८ दशमलव १२ प्रतिशतले वृद्धि भई १ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ संकलन भएको छ ।
विशेषगरी निकासी तर्फ २२५ प्रतिशतको वृद्धि देखिनुलाई अर्थतन्त्रका लागि सुखद पक्ष मानिएको छ, यद्यपि यो संकलन अझै पनि निर्धारित लक्ष्यभन्दा निकै पछाडि छ ।
आयकर र गैर–कर राजस्वमा संकुचन
उत्साहजनक वृद्धि भइरहँदा आयकर र गैर–कर राजस्वको तथ्यांकले भने चिन्ता थपेको छ । आयकर संकलन गत वर्षको तुलनामा १।४२ प्रतिशतले घटेर १ खर्ब ७० अर्ब ८० करोडमा सीमित भएको छ, जबकि यसको लक्ष्य २ खर्ब ३७ अर्बभन्दा माथि थियो । त्यस्तै, सरकारी सेवा र अन्य माध्यमबाट उठ्ने गैर–कर राजस्वमा १३ दशमलव ३१ प्रतिशतको ठूलो गिरावट आएको छ ।
शिक्षा सेवा शुल्क जस्ता साना शीर्षकमा ६६ प्रतिशतको उच्च वृद्धि देखिए पनि त्यसले समग्र राजस्वको खाडललाई पुर्न सकेको छैन । व्यावसायिक गतिविधिमा आएको सुस्तता र आयकरको लक्ष्य अनुसारको प्रगति हुन नसक्दा सरकारको ढुकुटीमा अपेक्षित चाप परेको देखिन्छ ।
लक्ष्यभन्दा टाढै भन्सार र आन्तरिक राजस्व
राजस्व उठाउने मुख्य दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभाग दुवैले आफ्नो लक्ष्य पूरा गर्न सकेका छैनन् । भन्सार विभागले ३ खर्ब ७८ अर्बको लक्ष्य पाएकोमा जम्मा ७९ दशमलव ३१ प्रतिशत अर्थात् ३ खर्ब १९ अर्ब ९४ करोड रुपैयाँ मात्र उठाएको छ। अर्कोतर्फ, आन्तरिक राजस्व विभागले ८१।३८ प्रतिशत प्रगति गर्दै ३ खर्ब ५६ अर्ब ६३ करोड रुपैयाँ संकलन गरेको छ ।
दुवै विभागको संकलनमा गत वर्षको तुलनामा केही सुधार देखिए पनि वैदेशिक व्यापारमा आएको परिवर्तन र आन्तरिक बजारको संकुचनका कारण सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म आफ्नो राजस्वको महत्त्वाकांक्षी लक्ष्य भेट्टाउन कडा चुनौती सामना गर्नुपर्ने देखिन्छ ।
















