१ चैत, काठमाडौं । निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीतर्फका १६ जना सांसदको अन्तिम नामावली बुझाएको छ ।
शनिबार बसेको पार्टी सचिवालय बैठकले निकै कसरतपछि क्लस्टर अनुसारको नाम टुङ्ग्याएको थियो, जसलाई एमाले नेता निरज आचार्यसहितको टोलीले आइतबार आयोग पुगेर औपचारिक रूपमा दर्ता गराएको हो । पार्टीले समावेशी सिद्धान्तलाई आत्मसाथ गर्दै आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेशी र मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
पार्टीले सार्वजनिक गरेको सूची अनुसार आदिवासी जनजातिबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्यलाई छनोट गरिएको छ । खस आर्य क्लस्टरमा महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल र पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराल समेटिएका छन् भने पुरुषतर्फ गुरु प्रसाद बराल र पुष्पराज कंडेलको नाम सिफारिस भएको छ। त्यसैगरी थारु समुदायबाट कृपाराम राना र दलित महिलातर्फ विष्णुमाया वी।के। तथा नीता घतानीले स्थान पाएका छन् ।
मधेशी क्लस्टरमा रिङ्ला यादव र यशोधा कुमारी यादव महिलातर्फ तथा चन्द्रेश्वर मण्डल पुरुषतर्फ छनोट भएका छन् । मुस्लिम समुदायको प्रतिनिधित्वका लागि पनि महिलाको नाम समावेश गरिएको छ ।
निर्वाचन आयोगले दलहरूबाट प्राप्त यी नामहरूको जाँचबुझ गरी अन्तिम प्रमाणीकरण गरेपछि उनीहरू आधिकारिक रूपमा सांसद निर्वाचित भएको घोषणा हुनेछन् । एमालेको यो चयनमा अनुभव र समावेशी सन्तुलन दुवैलाई ध्यान दिइएको नेताहरूले दाबी गरेका छन् ।
















