३ चैत्र, काठमाडौं । मध्यपूर्वमा जारी तनावले उग्र रूप लिँदै जाँदा इजरायली सेनाले इरानको राजधानी तेहरान र लेबनानको राजधानी बेरुतका विभिन्न इलाकाहरूमा नयाँ चरणको शक्तिशाली हवाई आक्रमण सुरु गरेको छ ।
अमेरिका–इजरायल र इरानबीचको यो युद्ध १७ औँ दिनमा प्रवेश गरिरहँदा इरानले पनि खाडी क्षेत्रलाई लक्षित गरी मिसाइल र ड्रोन प्रहार गरिरहेको छ । इरानको यस कदमलाई रोक्न कतार, साउदी अरब, युएई र कुवेतले आफ्ना आकाशमा इरानी मिसाइलहरू प्रतिवाद (इन्टरसेप्ट) गरिएको जनाएका छन् । यसैबीच, एम्नेस्टी इन्टरनेशनलको पछिल्लो अनुसन्धानले इरानी छात्रा प्राथमिक विद्यालयमा भएको विभत्स आक्रमणमा अमेरिकी संलग्नता रहेको दाबी गरेको छ, जहाँ १७० जनाको मृत्यु भएको थियो र मारिनेमा अधिकांश स्कुले छात्राहरू थिए ।
युद्धको दायरा बढ्दै जाँदा अन्तर्राष्ट्रिय स्तरमा सैन्य सहयोगको विषयलाई लिएर मतभेद चुलिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले नाटो सदस्य राष्ट्रहरूलाई हर्मुजको जलघाँटी खुलाउन सैन्य जहाज पठाउन कडा आग्रह गरे पनि जर्मनीले यस युद्धमा सहभागी हुने आफ्नो कुनै मनसाय नरहेको स्पष्ट पारेको छ । ट्रम्पले सहयोगी राष्ट्रहरूबाट सैन्य सहयोग प्राप्त नभए नाटोको अवस्था गम्भीर हुने चेतावनी दिएका छन्, तर हालसम्म कुनै पनि देशले जलघाँटीमा सैन्य जहाज पठाउने ठोस निर्णय गरिसकेका छैनन् । युरोपेली राष्ट्रहरूको यो अनिच्छाले पश्चिमी गठबन्धनभित्रको आन्तरिक दबाबलाई छर्लङ्ग पारेको छ ।
रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुजको जलघाँटीमा जारी अवरोधका कारण विश्वव्यापी अर्थतन्त्रमा समेत नकारात्मक असर देखिन थालेको छ । युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आउँदा विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ । एकातिर मानवीय क्षति र हवाई आक्रमणको सिलसिला थपिएको छ भने अर्कोतिर विश्वव्यापी ऊर्जा सङ्कटको जोखिम बढ्दै जाँदा यो द्वन्द्वले कुन मोड लिने हो भन्नेमा विश्व समुदाय चिन्तित बनेको छ ।

















