Logo

६ चैत,भर्जिनिया । अमेरिकाको फेयरफ्याक्स काउन्टी प्रहरीले गत फेब्रुअरी २३ मा मान्टुआस्थित ‘मार्गेट म्यानर अपार्टमेन्ट’ मा भएको एक हृदयविदारक हत्याकाण्डको ‘बडी क्यामरा’ भिडियो सार्वजनिक गरेको छ। घटनामा नेपालबाट हालै अमेरिका आएका छत्र थापाले आफ्नी श्रीमती बिन्दा थापा र छोरी ममता थापाको छुरा प्रहार गरी हत्या गरेका थिए।

प्रहरीका अनुसार, घटनाका क्रममा छत्रलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले चलाएको गोलीबाट उनको पनि घटनास्थलमै मृत्यु भएको थियो। प्रहरी प्रमुख केभिन डेभिसले घटनास्थललाई ‘अत्यन्त रक्तपातपूर्ण’ भन्दै वर्णन गरेका छन्।

कसरी सुरु भयो घटना?

घटना भएको दिन बिहान छत्रका ज्वाइँ सन्तोष बस्नेत र छोरी ममता थापा काममा जाने तयारीमा थिए। सन्तोष बाहिर पार्किङमा गाडीबाट हिउँ हटाउँदै गर्दा अपार्टमेन्टभित्रबाट चिच्याएको आवाज सुनेपछि उनी भित्र दौडिएका थिए।

बाल्कोनीबाट भित्र छिर्दा उनले एक वर्षे छोरा रोइरहेको अवस्थामा भेटे भने श्रीमती ममता गम्भीर घाइते अवस्थामा ढोकातिर भाग्दै गरेको देखे। ममताले अन्तिम पटक “उसले हामीलाई मार्‍यो” भन्दै सहायता मागेकी थिइन्।

भित्र छिरेपछि सन्तोषले आफ्ना ससुरा छत्र थापाले धारिलो हतियारले सासू बिन्दा थापामाथि अन्धाधुन्ध आक्रमण गरिरहेको देखेका थिए। त्यसपछि छत्रले सन्तोषमाथि पनि आक्रमण सुरु गरेका थिए।]

प्रहरीको हस्तक्षेप

सार्वजनिक गरिएको ‘बडी क्यामरा’ भिडियोमा प्रहरी घटनास्थलमा पुग्दाको भयावह दृश्य देखिन्छ। सिढी नजिकै ममता रगताम्मे अवस्थामा लडिरहेको देखिन्छिन्। प्रहरीले उनलाई सुरक्षित स्थानतर्फ आउन आग्रह गरे पनि उनी हिँड्न सक्ने अवस्थामा थिइनन्।

घरभित्र बच्चा रोइरहेको आवाज आएपछि प्रहरीले ढोका फोडेर प्रवेश गर्दा छत्र थापाले सन्तोषमाथि लगातार आक्रमण गरिरहेको देखिएको थियो। प्रहरीले पटक–पटक हतियार फाल्न चेतावनी दिए पनि उनले नमानेपछि गोली चलाइएको थियो।

गोली लागेपछि छत्र ढलेका थिए र प्रहरीले तत्कालै एक वर्षे बालकलाई सुरक्षित रूपमा उद्धार गरेको थियो।

प्रहरी प्रमुख डेभिसले संलग्न प्रहरी अधिकारीको प्रशंसा गर्दै भने, “यदि उनले समयमै कदम नचालेको भए थप ज्यान जान सक्थ्यो।”

कारण अझै अज्ञात

प्रहरीका अनुसार छत्र थापाको कुनै आपराधिक इतिहास थिएन र यसअघि उक्त घरबाट कुनै उजुरी पनि आएको थिएन। प्रारम्भिक जानकारीअनुसार उनी केही समयदेखि मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त रहेको संकेत देखिए पनि हत्याको स्पष्ट कारण खुल्न सकेको छैन।

घाइते सन्तोष बस्नेतले भने, “म आफ्नी श्रीमतीलाई बचाउन नसकेकोमा अझै पछुतो छ। उनको सहयोगका लागि गरेको पुकार मेरो कानमा अझै गुञ्जिन्छ।”

उनले छोरालाई सुरक्षित कोठामा राखेपछि मात्र प्रतिकार गरेको बताएका छन्।

नेपाली समुदायमा शोक

यस घटनाले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ। बिन्दा र ममता थापाको अन्त्येष्टि मंगलबार सम्पन्न भएको थियो, जहाँ ठूलो संख्यामा नेपालीहरू उपस्थित भएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

घाइते सन्तोष उपचारपछि पुनर्स्थापनाको प्रक्रियामा छन्। उनी निको भएपछि क्यालिफोर्नियामा रहेका आफन्तकहाँ जाने तयारीमा छन्, जहाँ हाल उनका छोराको हेरचाह भइरहेको छ।

घटनामा संलग्न प्रहरी अधिकारीलाई हाल प्रशासनिक प्रक्रियाअन्तर्गत ‘प्रतिबन्धित ड्युटी’ मा राखिएको छ। प्रारम्भिक अनुसन्धानले प्रहरीको कारबाही आत्मरक्षाका लागि गरिएको देखाएको छ।


सम्बन्धित समाचार