७ चैत,काठमाडौं । श्रीलंका ले अमेरिकी सैन्य प्रस्ताव अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके को निर्णयबारे अन्तर्राष्ट्रिय स्तरमा चर्चा सुरु भएको छ।
अमेरिकी विज्ञ तथा केही सञ्चारमाध्यमले यस घटनालाई “कम्युनिस्ट सरकारको निर्णय” भन्दै व्याख्या गरेपछि श्रीलंकामा त्यसको विरोध भएको छ। त्यहाँका मिडियाले भने श्रीलंका लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित सरकारद्वारा सञ्चालन भइरहेको स्पष्ट पारेका छन्, न कि कम्युनिस्ट शासनद्वारा।
द हिन्दू को रिपोर्टअनुसार अमेरिकाले जिबुटीस्थित सैन्य अड्डाबाट दुई वटा युद्धविमान मत्तला अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गराउने प्रस्ताव गरेको थियो। ती विमानमा एन्टी–शिप मिसाइल जडान गरिएको उल्लेख गरिएको छ।
संसदमा बोल्दै राष्ट्रपति दिशानायकेले श्रीलंकाले आफ्नो भूमि कुनै पनि सैन्य तनाव बढाउने गतिविधिका लागि प्रयोग हुन नदिने नीति लिएको स्पष्ट पारे। “उनीहरूले दुई वटा युद्धविमान ल्याउन चाहेका थिए, तर हामीले स्पष्ट रूपमा अस्वीकार गर्यौँ,” उनले भने।
अमेरिका र इरान बीच बढ्दो तनावका बीच आएको यस निर्णयलाई श्रीलंकाभित्र कूटनीतिक सन्तुलन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।


















