Logo

७ चैत,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँगको युद्ध चाँडै अन्त्य गर्ने सम्भावनाबारे फेरि ठूलो दाबी गरेका छन्। उनले ट्रुथ सोसल मा पोस्ट गर्दै मध्यपूर्वमा अमेरिकी सैन्य अभियानहरू बिस्तारै समाप्त गर्नेबारे विचार गरिरहेको बताएका छन्।

ट्रम्पले भनेका छन् कि इरानको आतङ्की शासनको सन्दर्भमा लक्ष्यहरू प्राप्त गर्न अमेरिका निकै नजिक पुगेको छ। उनले होर्मुज स्ट्रेटको निगरानी र सुरक्षाको जिम्मा ती देशहरूले लिनुपर्ने पनि उल्लेख गरेका छन्, जसले उक्त जलसन्धि प्रयोग गर्छन्। अनुमानअनुसार संसारको करिब २० प्रतिशत तेल होर्मुज स्ट्रेटमार्फतै अन्तर्राष्ट्रिय बजारमा आपूर्ति हुन्छ।

उनले इरान विरुद्धको युद्धमा अहिलेसम्म अमेरिकी सैन्य उपलब्धिहरूको पनि उल्लेख गर्दै इरानको मिसाइल क्षमतामा ठूलो क्षति पुगेको, सैन्य औद्योगिक आधार ध्वस्त भएको र इरानले कहिल्यै परमाणु हतियार बनाउन नसक्ने सुनिश्चित गरिएको दाबी गरेका छन्। साथै, मध्यपूर्वका सहयोगी राष्ट्रहरू—इजरायल, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, बहराइनकुवेत लाई उच्च सुरक्षा प्रदान गरिएको उनले बताएका छन्।

तर अर्कोतर्फ, सीबीएस को रिपोर्ट अनुसार अमेरिकी सैन्य अधिकारीहरूले इरानमा स्थल सेना तैनाथ गर्ने सम्भावनाबारे विस्तृत तयारी गरिरहेका छन्। पेन्टागनका वरिष्ठ अधिकारीहरूले सैनिक पठाउने योजना बनाउन विशेष अनुरोध गरिरहेको बताइएको छ। रिपोर्टका अनुसार यदि सैनिकहरू इरानमा पठाइए, इरानी सैनिकलाई हिरासतमा कसरी राख्ने भन्नेबारे पनि छलफल भइरहेको छ।

ट्रम्पले शुक्रबार पत्रकारहरूसँग भनेका छन् कि उनी युद्धविराम चाहँदैनन् तर अभियान बिस्तारै अन्त्य गर्ने योजना अघि बढाइरहेका छन्। उनले स्थल सेना पठाउने योजना भए पनि त्यसबारे जानकारी सार्वजनिक नगर्ने पनि स्पष्ट पारेका छन्।


सम्बन्धित समाचार