७ चैत,काठमाडौं । मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै आएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा र पर्यटन क्षेत्रमा गम्भीर असर पार्न थालेको छ। इरानले आफ्नो आक्रमणको दायरा विस्तार गर्न सक्ने चेतावनी दिएका छन् भने क्षेत्रीय सुरक्षा सुनिश्चित गर्न संयुक्त राज्य अमेरिकाले थप युद्धपोत र सैनिक परिचालन गर्ने घोषणा गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सैन्य अभियान क्रमशः घटाउने विकल्पसमेत विचाराधीन रहेको जनाएका छन्। तेलको मूल्यमा वृद्धि र अमेरिकी शेयर बजारमा गिरावट देखिएपछि यस्तो मिश्रित संकेत आएको हो।
इरानबाट जारी मिसाइल आक्रमणका कारण इजरायलले शनिबार बिहान पनि सुरक्षा सतर्कता जारी राखेको छ। साउदी अरेबियाले केही घण्टाभित्रै २० वटा ड्रोन निष्क्रिय पारिएको जानकारी दिएको छ। ती आक्रमणहरू मुख्यतः तेल पूर्वाधार केन्द्रित भए पनि अहिलेसम्म मानवीय क्षति वा ठूलो संरचनागत नोक्सानी नभएको अधिकारीहरूले जानकारी दिएका छन्।
खाडी क्षेत्रमा तनाव बढेसँगै हर्मुज जलडमरू को सुरक्षा चिन्ता झन् गहिरिएको छ। विश्वको करिब पाँचौं हिस्सा तेल ढुवानी हुने यो मार्गमा अवरोध आउँदा आपूर्ति प्रणालीमा ठूलो असर पर्ने सम्भावना छ।
इरानी नेतृत्वले आफू कमजोर नरहेको दाबी गर्दै अमेरिकी र इजरायली आक्रमण असफल भएको जनाएको छ। सर्वोच्च नेता मोज्तबा खामेनीले नवरोजको सन्देशमा यस विषयमा प्रतिक्रिया दिएका छन्। साथै, इरानी सेनाका उच्च अधिकारीहरूले ‘विश्वका पार्क, मनोरञ्जन क्षेत्र र पर्यटन स्थलहरू’ शत्रुका लागि सुरक्षित नहुने चेतावनी दिएका छन्, जसले द्वन्द्व मध्यपूर्व बाहिर फैलिने जोखिमलाई संकेत गर्दछ।
तेल बजारमा अस्थिरता बढेसँगै अमेरिकाले इरानी तेलमाथिका केही प्रतिबन्ध हटाउने घोषणा गरेको छ। यसबाट मूल्य नियन्त्रणमा केही सहयोग पुग्ने अपेक्षा गरिएको भए पनि उत्पादन वृद्धि नहुँदा आपूर्ति सहज हुने सम्भावना कम देखिएको छ।
हालसम्म यस द्वन्द्वमा इरानमा १,३०० भन्दा बढी, इजरायलमा १५ र पश्चिम किनारामा चार जनाको मृत्यु भइसकेको छ। अमेरिकी सेनाका कम्तीमा १३ सदस्यले पनि ज्यान गुमाएका छन्।


















