Logo

 ९ चैत,काठमाडौं । अमेरिका र इजरायलसँगको बढ्दो तनावबीच इरानले ऊर्जा बजारमा आफ्नो रणनीतिक प्रभाव विस्तार गरेको छ। अमेरिकाले खार्ग आइल्यान्ड नजिकका सैन्य संरचनामा हमला गरे पनि विश्वव्यापी तेल संकटको जोखिमका कारण मुख्य तेल टर्मिनललाई निशाना बनाएको छैन। यसै अवसरलाई उपयोग गर्दै इरानले खार्ग टर्मिनल सञ्चालनमा राख्दै ‘अवैध मार्ग’मार्फत चीनतर्फ तेल आपूर्ति जारी राखेको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (IEA) र एस एन्ड पी ग्लोबलका अनुसार इरानले दैनिक १.७ देखि २ मिलियन ब्यारल तेल निर्यात गरिरहेको छ, जसको करिब ९० प्रतिशत खार्ग टर्मिनलबाट भइरहेको छ। यद्यपि साउथ पार्स ग्यास फिल्डमा भएको हमलाले केही असर पुर्‍याए पनि ग्यास आपूर्ति पूर्ण रूपमा बन्द भएको छैन।

रिपोर्टहरूका अनुसार इरानले होर्मुज स्ट्रेट हुँदै गुज्रिने विदेशी जहाजहरूबाट ‘वार ट्याक्स’को रूपमा प्रति जहाज करिब १६.५ करोड रुपैयाँसम्म असुल गरिरहेको छ।

यसबीच, इरानको रणनीतिक पकड र क्षेत्रीय अस्थिरताका कारण साउदी अरब, कतार, इराक, कुवेत र यूएई जस्ता खाडी राष्ट्रहरूको तेल उत्पादनमा गम्भीर असर परेको छ। असुरक्षित समुद्री मार्ग, लगातार हमला र आपूर्ति शृङ्खलामा समस्या बढ्दै जाँदा यी देशहरूको उत्पादन करिब ७० प्रतिशतसम्म घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा यसको प्रत्यक्ष असर देखिएको छ। शुक्रबार ब्रेन्ट क्रूडको मूल्य ३.२६ प्रतिशतले बढेर ११२.१९ डलर प्रति ब्यारल पुगेको छ, जुन जुलाई २०२२ यताकै उच्च स्तर हो। यदि मूल्य १०० डलरभन्दा माथि नै रहिरह्यो भने दक्षिण एसियाली मुलुकहरूमा समेत महँगी बढ्ने संकेत देखिएको छ।

होर्मुज स्ट्रेटमा अवरोधका कारण विश्वकै ठूलो तेल निर्यातकर्ता साउदी अरबले पनि उत्पादन कायम राख्न संघर्ष गरिरहेको छ। दैनिक १ करोड ब्यारल उत्पादन घटेर ८० लाख ब्यारलमा झरेको छ। स्टोरेज ट्यांकी भरिँदा अराम्कोले केही कुवाहरू अस्थायी रूपमा बन्द गर्नुपरेको छ।

कतारको रास लफान ग्यास पूर्वाधारमा भएको हमलापछि ‘फोर्स मेज्योर’ घोषणा गरिएको छ, जसले एलएनजी आपूर्तिमा अनिश्चितता थपेको छ। देशको निर्यात क्षमता करिब १७ प्रतिशतले घटेको छ।

इराकमा विदेशी ऊर्जा कम्पनीहरूले कर्मचारी फिर्ता बोलाएका छन् भने उत्पादन ४३ लाख ब्यारलबाट घटेर १३ लाख ब्यारलमा झरेको छ। वैकल्पिक पाइपलाइन अभावका कारण ठूला तेल फिल्डहरूमा काम रोकिएको छ।

कुवेतमा पनि होर्मुजमा निर्भरता र बढ्दो जोखिमका कारण निर्यात लगभग ठप्प भएको छ। बीमा प्रिमियम ४०० प्रतिशतसम्म बढ्दा जहाजहरू बन्दरगाहमै रोकिएका छन्।

यता यूएईको फुजैराह पाइपलाइन पूर्ण क्षमतामा सञ्चालनमा भए पनि समग्र माग पूरा गर्न पर्याप्त छैन।

ऊर्जा संकटको प्रभाव अमेरिकामा पनि देखिएको छ। महँगी नियन्त्रणका लागि अमेरिकाले २० मार्चदेखि ३० दिनका लागि इरानी तेल खरिदमा आंशिक छुट दिएको छ। अमेरिकी ट्रेजरी विभागका अनुसार यो छुट १९ अप्रिलसम्म लागू रहनेछ, जसबाट करिब १४ करोड ब्यारल तेल बजारमा आउन सक्ने अनुमान गरिएको छ।

विशेषज्ञहरूका अनुसार यो अस्थायी कदमले विश्व बजारमा आपूर्ति दबाब केही कम गर्न सहयोग पुर्‍याउन सक्छ, तर दीर्घकालीन समाधान भने क्षेत्रीय स्थायित्वमै निर्भर रहनेछ।


सम्बन्धित समाचार