९ चैत,काठमाडौं । लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण तीव्र पारेको छ। पूर्वी सीमावर्ती क्षेत्र खियाम र नबातेहदेखि टायर नजिकैको शहाबिए नगरपालिका समेटेर इजरायलले हवाई आक्रमण गरेको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ।
अहिलेसम्मका रिपोर्ट अनुसार ती आक्रमणमा कम्तीमा एक जनाको ज्यान गएको छ। इजरायली सेनाले सीमा नजिकैका गाउँहरूमा स्थल सैन्य कारबाहीलाई समर्थन गर्न हवाई हमलाहरू जारी राखेको बताइएको छ।
खियाम सहरभित्र इजरायली सेना प्रवेश गरी कारवाही गर्दै आएको भए पनि पूर्ण नियन्त्रण अझै कायम भएको छैन। हिजबुल्लाहले पनि उक्त सहर वरपर रहेका इजरायली सैनिकहरूलाई लक्षित गर्दै निरन्तर रकेट प्रहार जारी राखेको छ।
पछिल्लो २४ घण्टामा हिजबुल्लाहले अहिलेसम्मकै धेरै सैन्य कारबाही गरेको दाबी गरेको छ। इरानसमर्थित शिया लडाकु समूहका अनुसार उनीहरूले ६३ वटा अपरेशन सञ्चालन गरेका छन्, जसमा अधिकांश रकेट प्रहारका साथै ड्रोन र आर्टिलरी हमलाहरू समावेश छन्।
यस संघर्षका कारण नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। इजरायली सेनाले तटीय राजमार्गको मुख्य पुलसहित अन्य पुलहरूलाई निशाना बनाएको छ। आज बिहान सार्वजनिक भएका तस्बिरहरूमा पहिले नै आक्रमणमा परेका तर पूर्ण रूपमा ध्वस्त नभएका पुलहरूमा पनि थप क्षति पुगेको देखिएको छ।
लेबनान–इजरायल सीमा क्षेत्रमा जारी तनावले क्षेत्रीय सुरक्षा र स्थानीय नागरिकको जीवनमा थप चुनौती सिर्जना गरेको छ।


















