१० चैत, विराटनगर । कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा बर्डफ्लू (एच५एन१) संक्रमण पुष्टि भएको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरका अनुसार, मोरङका ५, सुनसरीका ५ र झापाको १ स्थानमा संक्रमण भेटिएको हो।
भर्खरैका दिनहरूमा बोइलर र लेयर्स कुखुराको मृत्यु बढ्दै गएपछि दैनिक ५–७ जना किसान मरेका कुखुरा परीक्षणका लागि ल्याइरहेका छन्। शंकास्पद नमुना काठमाडौंस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइँदै छन्।
विराटनगरमा पुष्टि भएका फर्महरूमा दाहाल कृषि फार्म (६ हजार लेयर्स), हलेसी महादेव कृषि फार्म, अठियावारी कृषि फार्म, ए टु जेड पोल्ट्री फार्म र कामख्या पोल्ट्री फार्म छन्। दाहाल फार्ममा ३ हजार कुखुरा आफैं मरेका थिए भने बाँकी नष्ट गरिएको छ।
सुनसरीमा ओको कृषि फर्ममा सबैभन्दा धेरै ११ हजार २० कुखुरा नष्ट गरिएको छ। झापाको दमक एग्रिकल्चरमा पनि बर्डफ्लू पुष्टि भएको छ।
सरकारी टोलीले संक्रमण पुष्टि भएका फर्ममा ‘स्ट्याम्पिङ आउट’ प्रक्रिया अघि बढाएको छ। यसअन्तर्गत कुखुरा, अण्डा, दाना र फर्ममा प्रयोग भएका सामग्री नष्ट गरिन्छ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरका प्रमुख डाक्टर कमल गिरी का अनुसार, परीक्षणमा करिब ५० नमुनामा ११ मा एच५एन१ पुष्टि भएको छ। उनी भन्छन्, “एच५एन१ अत्यन्त घातक भाइरस हो र मानिसमा सर्ने जोखिम पनि छ, त्यसैले सतर्कताका साथ नष्ट गर्ने प्रक्रिया अपनाइएको छ।”
त्यस्तै, एच९ भाइरसका कारण पनि धेरै कुखुरा मरेका छन्। यसको हकमा बीमा दाबी गर्न सकिन्छ, तर बिमा नभएका किसानको नोक्सानी पूर्ति हुँदैन।
डाक्टर गिरीले किसानहरूलाई कुखुरा पालनको आधारभूत तालिम र जैविक सुरक्षा उपायको ज्ञान लिन आग्रह गरेका छन्। “ज्ञानको अभावले रोग छिटो फैलने जोखिम बढाउँछ। स्थानीय तहले तालिम दिँदा किसानका लागि सजिलो हुनेछ,” उनले भने।
यस घटनाले प्रदेशका किसानहरू र स्थानीय प्रशासनबीच कुखुरा पालनमा स्वास्थ्य सुरक्षा र जैविक सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ।


















