Logo

१० चैत,वीरगञ्ज । पोखरिया नगरपालिकामा रहेको प्रादेशिक अस्पतालको सेवा अवस्था दिनप्रतिदिन खस्किँदै गएको छ। केही समयअघि दैनिक करिब २५० जना बिरामीले सेवा लिँदै आएको अस्पतालमा अहिले सेवा कटौतीका कारण बिरामी सङ्ख्या घटेर करिब १०० मा सीमित भएको छ।

अस्पतालको एक्स–रे सेवा विगत दुई महिनादेखि पूर्ण रूपमा बन्द रहेको छ। ठेकेदार कम्पनीले भुक्तानी नपाएको भन्दै मेशिनका आवश्यक पार्टपुर्जा नै हटाएपछि सेवा सञ्चालन हुन सकेको छैन। कम्पनीका अनुसार करिब साढे चार लाख रुपैयाँ भुक्तानी बाँकी छ। नगरपालिकाले भुक्तानी गर्ने तयारी गरे पनि समयमै रकम नपुग्दा समस्या जटिल बनेको हो।

अस्पतालमा औषधि अभाव पनि गम्भीर बनेको छ। चिकित्सकले बीमा अन्तर्गत लेखेका औषधिसमेत बिरामीले पाउन छाडेका छन्। जीवनजल, सिटामोल तथा सामान्य उपचारमा आवश्यक पट्टी–कपासजस्ता आधारभूत सामग्रीसमेत उपलब्ध छैनन्। निश्शुल्क उपलब्ध गराइने ९८ प्रकारका औषधिमध्ये अहिले केही थोरै मात्र औषधि बाँकी छन्।

त्यस्तै, इसिजी सेवा बन्द छ भने प्रयोगशालामा थाइराइड परीक्षण समेत रोकिएको छ। यसले बिरामीहरूलाई वैकल्पिक रूपमा निजी स्वास्थ्य संस्थामा जान बाध्य बनाएको छ, जसले आर्थिक भार थपेको छ।

जिल्ला अस्पतालबाट प्रादेशिक अस्पतालमा स्तरवृद्धि गरिए पनि सेवामा आएको गिरावटले कर्मचारी र सेवाग्राही दुवै असन्तुष्ट छन्। अस्पताल व्यवस्थापन र पोखरिया नगरपालिकाले तत्काल भुक्तानी प्रक्रिया टुंग्याई आवश्यक उपकरण र औषधि आपूर्ति सुनिश्चित नगरे स्वास्थ्य सेवा झन् संकटमा पर्ने देखिएको छ।

स्थानीयवासीले अस्पतालको सेवा सुधार गर्न तत्काल पहल गर्नुपर्ने माग गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै