Logo

११ चैत,काठमाडौं । कम्बोडिया मा अनलाइन ठगी तथा गैरकानुनी गतिविधिमा फसाइएका थप ५१ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।

विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका उनीहरूलाई अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोमा काम गर्न बाध्य बनाइएको थियो। केही नेपालीहरू बिनाभिसा बसिरहेको अवस्थामा समेत फेला परेका थिए।

थाइल्याण्ड मा रहेको नेपाली दूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरी मंगलबार नेपाल फर्काइएको दूतावासले जनाएको छ।

तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढ्दै गएको छ। सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा त्यहाँ पुगेका थिए भने सन् २०२५ सम्म आइपुग्दा यो संख्या ९ हजार ६७६ पुगेको देखिन्छ।

नेपाल सरकारले वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रूपमा श्रम स्वीकृति लिन र छिटो धेरै पैसा कमाउने प्रलोभनमा नपरी सावधानी अपनाउन आग्रह गरेको छ। विशेषगरी लाओस, म्यानमार, थाइल्याण्ड लगायतका देशमा भ्रमणको बहानामा रोजगारीका लागि नजान चेतावनी दिइएको छ।


सम्बन्धित समाचार