११ चैत,वीरगञ्ज । वरिष्ठ पत्रकार स्व.सुर्दशनराज पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कार बुधबार एक विशेष समारोहबीच बरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतमलाई प्रदान गरिएको छ।
२५ हजार रुपैयाँको उक्त पुरस्कार पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरिपन्त पन्तले प्रदान गरेका थिए। पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सांसद पन्तले पर्सा क्षेत्रका पत्रकारिताका धरोहरलाई सम्मान गर्न पाउँदा आफूलाई गर्व लागेको बताए।
सांसद पन्तले गौतमको योगदानलाई नेपाली पत्रकारिताको विकासमा महत्वपूर्ण ठहर गर्दै, स्व. पाण्डेको स्मरण गरे। उनले भने, “पाण्डे दाइ जहिले पनि प्रतिपक्षी भूमिकामा रहनुहुन्थ्यो। मलाई लाग्छ पत्रकारिताको मूल मर्म यही हो।” साथै, उनले स्मरण गरे कि पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारको राशि बढाउने विषयमा आवश्यक पहल गर्न सबैमा अपील गर्न चाहन्छन्।
सम्मानीत बरिष्ठ पत्रकार गौतमले भने, स्व. पाण्डे सदैब हास्ने तर पत्रकारिताका आधारभूत सिद्धान्तसँग सम्झौता नगर्ने निर्भीक पत्रकारको रूपमा सम्झन योग्य व्यक्ति भएको बताए। उनले पाण्डेको स्मृतिमा स्थापित पुरस्कार आफूलाई प्रदान गरिएकोमा धन्यवाद व्यक्त गरे।

स्व. पाण्डेको ०८१ भदौमा निधन भएको थियो। उनको स्मृतिमा नेपाल पत्रकार महासंघ, पर्सा शाखाले स्थापना गरेको यो पुरस्कार यस वर्ष पहिलो पटक वितरण गरिएको हो।
कार्यक्रम नेपाल पत्रकार महासंघ, पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा संयोजक के.सी. लामिछाने, र पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान उपस्थित थिए।
साथै, मधेश प्रदेशका अध्यक्ष हरि पन्त, सामाजिक अभियान्ता कमल चौगाई लगायतले पुरस्कृत गौतमको व्यक्तित्व र योगदानमा चर्चा गरे। कार्यक्रमको संचालन पर्सा शाखाका सचिव बजिय महतोले गरेका थिए।

















