११ चैत,सर्लाही । सर्लाही जिल्लाका विभिन्न सीमावर्ती नाकाहरू हुँदै अवैध तस्करीका गतिविधि तीव्र बन्दै गएको छ। पछिल्लो समय नेपाली र भारतीय सामानहरू चोर बाटो प्रयोग गरी ठूलो परिमाणमा नेपाल–भारत सिमाना ओसारपसार भइरहेको छ।
जिल्लाको संग्रामपुर, नारायणपुर, पर्सा, त्रिभुवननगर, मलंगवा, भाँडसर, सिमरा, मधुवनी, अर्नाहा लगायतका नाकाहरूबाट दैनिक लाखौं रुपैयाँ बराबरका सामान तस्करी भइरहेको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरूको भनाइ अनुसार, मुख्य रूपमा राति र बिहानको समयमा तस्करी बढी हुने गरेको छ।
यसैबीच, भारतीय सीमा सुरक्षा बल (एसएसबी) ५१औँ बटालियन ले हनुमाननगर नाकामा ठूलो परिमाणमा तस्करी सामान नियन्त्रणमा लिएको छ। एसएसबीका अनुसार नेपालबाट भारततर्फ लैजाँदै गरिएको ३,५१५ केजी चाइनिज स्याउ सहित दुई वटा महिन्द्रा पिकअप गाडी नियन्त्रणमा लिइएको छ।
नियन्त्रणमा लिइएको स्याउ र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि भारतस्थित सोनवर्सा भन्सार कार्यालय मा बुझाइएको छ।
सीमावर्ती क्षेत्रका बासिन्दा र सुरक्षा निकायले चेतावनी दिएका छन् कि अवैध तस्करी रोकथामका लागि दुवै देशका सुरक्षाकर्मीहरूलाई अझ सक्रिय भूमिका खेल्न आवश्यक छ।

















