१२ चैत्र, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको पछिल्लो प्रक्षेपण अनुसार आगामी शुक्रबार र शनिबार देशका धेरैजसो भूभागमा मौसम प्रतिकूल रहने देखिएको छ ।
चैत १३ र १४ गते देशव्यापी रूपमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा उच्च पहाडी एवं हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै विभागले विशेष सतर्कता अपनाउन सूचना जारी गरेको हो । विशेषगरी शुक्रबार कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा वर्षाको प्रभाव बढी देखिने अनुमान गरिएको छ ।
शनिबार पनि यो क्रम जारी रहने र कोसी, मधेस एवं बागमती प्रदेशका केही स्थानहरूमा चट्याङ र असिनासहितको झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहीबारको अवस्थालाई हेर्दा कोसी, बागमती र गण्डकीका हिमाली भूभागमा फाट्टफुट्ट वर्षा र हिमपातको सम्भावना रहे तापनि काठमाडौँ उपत्यकामा भने तत्काल पानी पर्ने सम्भावना न्यून रहेको मौसमविद् डेभिड ढकालले जानकारी दिनुभएको छ ।
आज राति पनि केही पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको संकेत देखिए पनि भोलि शुक्रबारदेखि भने वर्षाको आयतन र क्षेत्र दुवै विस्तार हुने देखिएको छ । प्रि–मनसुनको यो समयमा अचानक हुने हावाहुरी, चट्याङ र असिनाले कृषि बाली तथा दैनिक जनजीवनमा क्षति पुऱ्याउन सक्ने भएकाले मौसम सम्बन्धी अद्यावधिक जानकारी लिइरहन र आवश्यक सुरक्षा सावधानी अपनाउन विभागले सबैमा आग्रह गरेको छ ।

















