Logo

१२ चैत्र, काठमाडौं ।  नयाँ सत्ता समीकरणको रन्कोले सिंहदरबार तातिरहेका बेला पुँजी बजारमा पनि त्यसको प्रत्यक्ष पराकम्प देखिएको छ ।

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएपछि लगानीकर्ताहरूमा एउटा ‘उत्साह मिश्रित पर्खाइ’ देखिएको हो । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १४ दशमलव २१ अङ्कले उकालो लाग्दै २९५० दशमलव १६ को मनोवैज्ञानिक विन्दुमा पुगेर अडिएको छ ।

१३ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको विशाल कारोबार हुनुले बजारले नयाँ राजनीतिक नेतृत्वलाई स्वागत गर्न खोजेको संकेत त गर्छ, तर के यो चमक बालेन सरकारको आगमनपछिको नीतिगत स्थायित्वमा टिकिरहलारु अबको वास्तविक दिनगन्ती भने आइतबार बजार खुलेसँगै सुरु हुनेछ।

बालेन शाहको नेतृत्वमा सरकार बन्ने समाचारले लगानीकर्ताहरूलाई ‘पर्ख र हेर’ को अवस्थाबाट बाहिर निकालेर आक्रामक खरिदमा डोहोऱ्याएको देखिन्छ। आज ३४३ कम्पनीका ३ करोड ४ लाख कित्ता सेयर किनबेच हुँदा रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोपावर जस्ता पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्नुले बजारमा ुसेन्टिमेन्टु कति बलियो छ भन्ने प्रष्ट हुन्छ ।

यद्यपि, विकास बैंक र जीवन बीमा जस्ता महत्वपूर्ण सूचकहरूमा देखिएको गिरावटले भने सबै क्षेत्र अझै ढुक्क भइनसकेको सन्देश दिएको छ । नयाँ सरकारले पुँजी बजारका नीतिगत गाँठोहरू फुकाउला कि केवल राजनीतिक स्टन्टमै अल्झिएला भन्ने प्रश्न अब लगानीकर्ताको दिमागमा घुम्न थालेको छ ।

सिंहदरबारमा नयाँ अनुहारको शपथसँगै सेयर बजारले जुन रफ्तार समातेको छ, त्यसलाई टिकाउनु नै अब बन्ने अर्थमन्त्रीको पहिलो चुनौती हुनेछ। एनआरएन इन्फास्ट्रक्चरको ९४ करोडभन्दा बढीको कारोबारले ठूला लगानीकर्ताहरू पनि बजारमा सक्रिय हुन थालेको संकेत गरेको छ ।

तर, विगतमा जस्तै सरकार परिवर्तनको हल्लामा मात्र बजार बढ्ने र काम सुरु भएपछि ओरालो लाग्ने पुरानै नियति दोहोरिएमा साना लगानीकर्ता फेरि पनि चेपुवामा पर्ने निश्चित छ । त्यसैले, आइतबार खुल्ने बजारले बालेन सरकारप्रतिको वास्तविक भरोसा वा भय कुन दिशामा जान्छ भन्ने ठोस चित्र देखाउनेछ।


सम्बन्धित समाचार