Logo

१५ चैत, काठमाडौं । अमेरिका, इजरायल र इरानबीचको भीषण युद्ध आजदेखि दोस्रो महिनामा प्रवेश गरेको छ, जसले विश्व राजनीति र अर्थतन्त्रमा गम्भीर हलचल पैदा गरेको छ ।

गत फेब्रुअरी २८ मा इरानमाथि भएको संयुक्त आक्रमणपछि सुरु भएको यो द्वन्द्व दशकौँयताकै ठूलो तनावका रूपमा देखिएको छ, जहाँ इरानका सर्वोच्च नेता अली खामेनी र वरिष्ठ सैन्य कमान्डरहरूसहित ठूलो संख्यामा सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । इरानले पनि यसको कडा प्रतिवाद गर्दै मध्यपूर्वमा रहेका अमेरिकी र इजरायली सैन्य अखडाहरूमा निरन्तर मिसाइल र ड्रोन प्रहार गरिरहेको छ, जसका कारण हर्मुज जलमार्गमा अवरोध सिर्जना भई विश्वबजारमा इन्धनको आपूर्ति र मूल्यमा ठूलो उतारचढाव आएको छ ।

यसैबीच, यो युद्धमा यमनको हुथी विद्रोही समूह पनि इरानको समर्थनमा मिसिएपछि स्थिति थप जटिल र चासोपूर्ण बनेको छ । हुथीको प्रवेशले साउदी अरबजस्ता तेल निर्यातकर्ता मुलुकहरूलाई समस्यामा पारेको छ भने संयुक्त राष्ट्रसंघले विद्यालय र बालबालिकामाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ता अन्तिम चरणमा पुगेको दाबी गरे पनि इरानले त्यसलाई अस्वीकार गर्दै आएकाले शान्तिको सम्भावना अझै अन्योलमा छ । युद्ध रोक्नका लागि अहिले पाकिस्तानले साउदी अरब, टर्की र इजिप्टसँग मिलेर नयाँ कूटनीतिक पहल सुरु गर्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


सम्बन्धित समाचार