Logo

१५ चैत, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध बलात्कारको गम्भीर आरोप लगाउँदै आएकी शोभा पाठकले उनलाई तत्काल पक्राउ गर्न माग गर्दै कानुनी प्रक्रियालाई थप तीव्र बनाएकी छन् ।

आइतबार बिहानै जिल्ला प्रहरी परिसर काठमाडौं र सरकारी वकिलको कार्यालय पुगेकी पाठकले बस्नेतमाथि लगाइएको आरोपमाथि निष्पक्ष छानबिन गरी उनलाई नियन्त्रणमा लिनुपर्ने मागसहितको निवेदन दर्ता गराएकी हुन् । यसअघि नै बलात्कारको मुद्दा दर्ता गराइसकेकी उनले शक्तिको आडमा अनुसन्धान प्रभावित हुन सक्ने आशंका गर्दै प्रहरी प्रशासनलाई दबाब दिन पुगेको बुझिएको छ ।

बस्नेतमाथि लागेको यो फौजदारी अभियोगले राजनीतिक वृत्तमा ठूलो हलचल पैदा गरिरहेका बेला पाठकको यो पछिल्लो कदमले गृह प्रशासन र प्रहरीको ुएक्सनु कस्तो रहला भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ । जेनजी आन्दोलनपछिको बदलिएको राजनीतिक परिवेश र नयाँ सरकारको भ्रष्टाचार तथा अपराध विरुद्धको सक्रियताका बीच यो मुद्दाले कुन मोड लिने हो भन्ने चासो सर्वत्र देखिएको छ ।

सरकारी वकिल कार्यालय र प्रहरी दुवै निकायमा एकसाथ पुगेर पाठकले बस्नेतलाई कानुनी कठघरामा उभ्याउन माग गरेपछि अब यो प्रकरणले थप कानुनी औपचारिकता पाउने निश्चित देखिएको छ ।


सम्बन्धित समाचार