Logo

१५ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीद परिवारका सदस्यहरूलाई रोजगारीको अवसर प्रदान गर्ने प्रक्रिया अघि बढाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशन र ‘जेनजी आन्दोलन राहत सहायता कार्यविधि २०८२’ को व्यवस्थाअनुसार शहीद परिवारलाई रोजगारी दिने तयारीस्वरूप प्राधिकरणले सरोकारवालाहरूलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको हो ।

विभिन्न जिल्लाबाट रोजगारीका लागि निवेदन प्राप्त भइसकेको अवस्थामा शहीदका परिवारले पाउने यस सुविधामा अन्य कसैको हकदाबी भएमा ३५ दिनभित्र आवश्यक प्रमाणसहित सम्पर्क राख्न प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार कतिपय निवेदकहरूले शहीदसँगको नाता खुल्ने स्पष्ट प्रमाण वा पूर्ण कागजात पेश नगरेकाले उनीहरूलाई काठमाडौंस्थित केन्द्रीय कर्मचारी प्रशासन शाखामा सम्पर्क गरी प्रमाणित कागजात बुझाउन निर्देशन दिइएको छ ।

हालसम्म गोरखा, सुनसरी, सप्तरी, चितवन, कैलाली, झापा, बाजुरा, उदयपुर र काठमाडौँ लगायतका जिल्लाबाट शहीद परिवारका सदस्यहरूले रोजगारीका लागि आवेदन दिएका छन् । यो कदमलाई सरकारले आन्दोलनका घाइते तथा शहीद परिवारलाई राहत र पुनर्स्थापना गर्ने नीतिको एउटा महत्त्वपूर्ण पाटोका रूपमा लिएको छ ।


सम्बन्धित समाचार