Logo

१५ चैत, काठमाडौं । राजधानीको माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच आइतबार अपराह्न हिंसात्मक झडप भएको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढेको विरोध जुलुसलाई प्रहरीले रोक्न खोजेपछि स्थिति तनावपूर्ण बनेको हो । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग घम्साघम्सी भएको र सो क्रममा आन्दोलनकारीका तर्फबाट ढुङ्गा प्रहार भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरेको थियो ।

झडपका क्रममा दुवैतर्फ केही व्यक्तिहरू घाइते भएका छन् । प्राप्त प्रारम्भिक जानकारीअनुसार एक जना प्रदर्शनकारीको टाउकोमा गहिरो चोट लागेको छ भने अन्य केही सामान्य घाइते भएका छन् । प्रहरीले भीडलाई तितरबितर पार्न बल प्रयोग गरेपछि अहिले बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।

एमाले कार्यकर्ताहरूले सरकारको पछिल्लो कदमलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै नाराबाजी जारी राखेका छन्, जसका कारण सो क्षेत्रको सवारी आवागमन समेत पूर्ण रूपमा ठप्प भएको छ ।


सम्बन्धित समाचार