Logo

१६ चैत, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी (इन्ट्रान्स) र ब्रिज कोर्सका कक्षाहरू बन्द गर्ने भनी जारी गरेको विवादास्पद सूचना आफ्नो आधिकारिक वेबसाइटबाट हटाएको छ ।

आइतबार मात्रै मन्त्रालयले आगामी २०८३ वैशाख १ गतेदेखि सबै प्रकारका तयारी कक्षाहरू पूर्ण रूपमा बन्द गर्ने मन्त्रीस्तरीय निर्णय सार्वजनिक गरेको थियो । तर, निर्णय सार्वजनिक भएको २४ घण्टा नबित्दै सूचना हटाइए पछि सरकार आफ्नै निर्णयबाट पछि हटेको हो वा प्राविधिक संशोधन गर्न खोजेको हो भन्नेबारे अन्योल सिर्जना भएको छ ।

यस प्रकरणमा शिक्षामन्त्री सस्मित पोखरेल र मन्त्रालयले जारी गरेका सूचनाहरूमा तादात्म्यता नमिलेपछि सरकारको आलोचना सुरु भएको थियो।
मन्त्रालयको विज्ञप्तिले उच्च शिक्षासहित सबै तहका इन्ट्रान्स कक्षामा रोक लगाउने उल्लेख गरेको थियो भने मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत कक्षा १२ सम्मका लागि मात्र यस्तो नियम लागू हुने आशयको फरक जानकारी सार्वजनिक गर्नुभएको थियो ।

मन्त्री र मन्त्रालयबीचको यो विरोधाभासपूर्ण सञ्चारले शैक्षिक क्षेत्रमा ठुलो भ्रम पैदा गरेको छ । सरकारको यस निर्णयप्रति शैक्षिक संस्थाहरूले विरोध जनाइरहेका छन् भने कतिपयले यसलाई सुधारको कदम भन्दै प्रशंसा समेत गरेका छन् ।

तर, वेबसाइटबाट एकाएक सूचना गायब पारिएपछि मन्त्रालयको आधिकारिक धारणा बुझ्न खोज्दा कुनै पनि अधिकारीले प्रतिक्रिया दिन चाहेका छैनन् । नीतिगत स्पष्टता बिना हतारमा निर्णय गर्ने र दबाब परेपछि सूचना हटाउने मन्त्रालयको कार्यशैलीले शासकीय सुधारको सरकारी लक्ष्यमाथि नै प्रश्न उठाएको छ ।


सम्बन्धित समाचार