Logo

१६ चैत, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधमा एमालेका नेता तथा कार्यकर्ताहरूले राजधानीको सडक तताएका छन् ।

जेन–जी आन्दोलनको क्रममा भएको दमनको अभियोगमा गत शनिबार भक्तपुरबाट पक्राउ परेका आफ्ना शीर्ष नेताको तत्काल रिहाइको माग गर्दै एमालेले सोमबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म विशाल विरोध जुलुस प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले सरकारको यस कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै नाराबाजी गरेका छन् । माइतीघर मण्डलामा भेला भएका सयौँको सङ्ख्यामा रहेका कार्यकर्ताहरू जुलुससहित नयाँ बानेश्वर पुगेका थिए, जसका कारण दिउँसो केही समय सो क्षेत्रको यातायात व्यवस्था समेत प्रभावित हुन पुगेको थियो ।

आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी

एमालेले आफ्ना अध्यक्षको गिरफ्तारीले लोकतान्त्रिक मूल्यमान्यता र राजनीतिक संस्कारमाथि प्रहार भएको दाबी गर्दै आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी दिएको छ ।

जिल्ला अदालत काठमाडौँले ओलीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि एमालेको आक्रोश थप चुलिएको छ । एकातिर सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ भइरहेको छ भने अर्कोतिर सडकमा कार्यकर्ताहरूको दबाब बढ्दो छ ।

बानेश्वरमा आयोजित संक्षिप्त कोणसभामा नेताहरूले सरकारले नियोजित रूपमा विपक्षी दलका नेताहरूलाई लक्षित गरेको भन्दै तत्काल सुधार नभए आन्दोलनले अझै उग्र रूप लिने बताएका छन् ।


सम्बन्धित समाचार