Logo

१६ चैत, काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयको कार्यभार सम्हालेलगत्तै प्रशासनिक सुधारको संकेत दिँदै ठुलो संख्यामा उपसचिवहरूको सरुवा गर्नुभएको छ ।

मन्त्रालयले सोमबार एकैपटक ३० जना उपसचिवहरूलाई विभिन्न विभाग र मातहतका निकायहरूमा जिम्मेवारी हेरफेर गरेको हो । मन्त्री वाग्लेको नेतृत्वमा भएको यो पहिलो ठुलो प्रशासनिक हेरफेरलाई अर्थतन्त्रको गति बढाउने र राजस्व प्रशासनलाई चुस्त बनाउने सरकारी प्रयासका रूपमा हेरिएको छ ।

सरुवा सूचीअनुसार मन्त्रालयमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभाग र ती अन्तर्गतका विभिन्न कार्यालयहरूमा पठाइएको छ। यस्तै, केही उपसचिवहरूलाई संघबाट प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयहरूमा समेत सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

कार्यसम्पादनमा प्रभावकारिता ल्याउन र अनुभव आदानप्रदानका लागि यो नियमित प्रक्रिया भए तापनि नयाँ सरकार गठनपछिको यो कदमलाई अर्थ मन्त्रालयको टिम पुनर्गठनका रूपमा राजनीतिक र प्रशासनिक वृत्तमा चर्चा गरिएको छ ।

सरकारको नयाँ कार्यदिशा अनुरूप काम गर्नुपर्ने चुनौती

अर्थमन्त्रीले सार्वजनिक रूपमै राजस्व चुहावट नियन्त्रण र कर प्रशासनमा पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाइरहेका बेला यो सरुवा भएको हो । नयाँ जिम्मेवारी पाएका उपसचिवहरूले अब भन्सार र आन्तरिक राजस्व जस्ता संवेदनशील क्षेत्रमा सरकारको नयाँ कार्यदिशा अनुरूप काम गर्नुपर्ने चुनौती छ ।

यसअघि मन्त्री वाग्लेले निजी क्षेत्रसँगको भेटमा प्रशासनिक झन्झट अन्त्य गर्ने आश्वासन दिनुभएको थियो, जसको कार्यान्वयनका लागि यो प्रशासनिक हेरफेरलाई एउटा महत्त्वपूर्ण खुड्किलो मानिएको छ ।


सम्बन्धित समाचार