१६ चैत, काठमाडौँ । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र अवैध रूपमा रकम असुल्ने १५ जना बिचौलियाहरूलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले सोमबार विशेष अपरेसन चलाएर ती बिचौलियाहरूलाई नियन्त्रणमा लिएको हो । कार्यालय परिसरमा पुग्ने सेवाग्राहीहरूलाई फास्ट ट्रयाकबाट काम मिलाइदिने प्रलोभन देखाई अनावश्यक झन्झट दिने र मोटो रकम बार्गेनिङ गर्ने गरेको जनगुनासो बढेपछि प्रहरीले निगरानी बढाएको थियो ।
पक्राउ परेका व्यक्तिहरूले सरकारी प्रक्रियालाई जटिल बनाएर देखाउने र सोझो बाटोबाट काम गर्न आउने नागरिकहरूलाई हैरानी दिँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले लाइसेन्स नवीकरण, सवारी दर्ता र अन्य प्रशासनिक कार्यहरू छिटो गराइदिने बहानामा सेवाग्राहीबाट अवैध असुली गर्ने गरेको पाइएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार पक्राउ परेका सबैलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
यातायात कार्यालयहरूमा बिचौलियाको दबदबा अन्त्य गर्न र सेवा प्रवाहलाई पारदर्शी बनाउन प्रहरीले यस्ता कदम चालिरहने जनाएको छ । बिचौलियाकै कारण सर्वसाधारणले राज्यबाट पाउने सेवामा अनावश्यक आर्थिक भार र मानसिक तनाव खेप्नुपर्ने अवस्था आएको भन्दै प्रहरीले नागरिकहरूलाई पनि कसैको प्रलोभनमा नपर्न र आधिकारिक काउन्टरबाटै सेवा लिन आग्रह गरेको छ । यसअघि पनि विभिन्न यातायात कार्यालयहरूबाट बिचौलिया पक्राउ पर्ने गरे तापनि यस्तो प्रवृत्ति पूर्ण रूपमा निरुत्साहित हुन सकेको छैन ।

















