Logo

१६ चैत, वीरगञ्ज । भूमिसुधार तथा मालपोत कार्यालय पर्साका प्रमुखले सेवाग्राहीको काम गर्ने एक लेखापढी व्यवसायीलाई अश्लील गालीगलौज र धम्की दिएको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उजुरीमाथि कुनै सुनुवाइ नभएको पीडित पक्षले गुनासो गरेका छन्।

शुभलाभ लेखापढी तथा भू-सेवा केन्द्र’ का सञ्चालक ओमप्रकाश यादव र मालपोत अधिकृत खेमराज खत्रीले एक–अर्कालाई गम्भीर आरोप लगाउँदै उजुरी दिएको एक महिना बितिसक्दा पनि स्थानीय प्रशासनले कुनै ठोस कदम नचालेको यादवको भनाइ छ।

लेखापढी व्यवसायी यादवले प्रशासनमा बुझाएको निवेदन अनुसार यो विवाद एउटा जग्गा नामसारीको फाइलबाट सुरु भएको हो। भारतको चम्पारण निवासी स्वर्गीय देवनारायण साह कलवारको नाममा रहेको जग्गा निजका नाति अनिल कुमार साहको नाममा नामसारी गर्ने प्रक्रियाका लागि फाइल पेश गरिएको थियो।

उक्त फाइलको सम्पूर्ण कानूनी प्रक्रिया पूरा भई टिप्पणी आदेश समेत लेखिएर अन्तिम स्वीकृतिका लागि प्रमुख मालपोत अधिकृत खत्रीको टेबलमा पुगे पनि उनले हस्ताक्षर गर्न इन्कार गरेको यादवको दाबी छ।

सेवाग्राहीसँग अनुचित लाभ लिन खोजेको भन्ने सुचना पाएपछि बुझ्न खोज्दा अधिकृत खत्रीले आफूमाथि अत्यन्तै अपमानजनक, अश्लील र साम्प्रदायिक द्वेष फैलाउने शब्द प्रयोग गरी गालीगलौज गरेको यादवले निवेदनमा उल्लेख गरेका छन्।

सरकारको जिम्मेवार पदमा बसेर सेवाग्राहीलाई जातीय र साम्प्रदायिक आधारमा हेप्ने कार्य अक्षम्य छ, यादवले भने, “नयाँ सरकार बने पनि कर्मचारीको कार्यशैलीमा सुधार नआउनु दुःखद पक्ष हो।”

यादवले गत फागुन १० गते नै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता गराएको र सो क्रममा प्रयोग भएका अपशब्द र साम्प्रदायिक द्वेषयुक्त अडियो प्रमुख जिल्ला अधिकारी र पर्साका प्रहरी नायब उपरीक्षकलाई समेत सुनाएको बताएका छन्।

यता, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले मालपोत अधिकृत खेमराज खत्रीले पनि यादवविरुद्ध उजुरी दर्ता गराएको जानकारी दिए। प्रजिअ दाहालका अनुसार दुवै पक्षको कुरा सुनेपछि सम्झाएर पठाइएको छ। दुवै पक्षको कुरा सुनेपछि अव उपरान्त कुनै कमीकमजोरी नहोस भनेर सम्झाएर पठाएको उनले बताए ।

अधिकृत खत्रीले व्यवसायी यादवले लेखापढीको आवरणमा कर्मचारीहरूलाई धम्काउने, दबाब दिने र आफूलाई समेत टेलिफोनमा अश्लील शब्द प्रयोग गरी अपमान गरेको आरोप लगाएका छन्।

मालपोत प्रमुख खत्रीले आफूले साम्प्रदायिक र जातीय कुरा उठाउँदै अपशब्द बोलेको स्वीकार गरेका छन्। मैले कुनै अनुचित रकम मागेको छैन, तर यादवले १० लाख घुस मागेको र नदिएकै कारण फाइल रोकेको आरोप लगाएपछि मैले पनि संयमता गुमाएर अपशब्द प्रयोग गरेको हुँ, खत्रीले भने।

के छ कानूनी प्रावधान ?

निजामती सेवा ऐन, २०४९ अनुसार सेवाग्राहीसँग अमर्यादित व्यवहार गर्ने कर्मचारीलाई विभागीय सजायदेखि सेवाबाट हटाउनेसम्मको कारबाही हुन सक्छ। त्यस्तै, मुलुकी अपराध संहिता, २०७४ को दफा १६६ अनुसार जातीय वा साम्प्रदायिक आधारमा भेदभाव वा अपमान गरेमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

साथै, सोही संहिताको दफा ११८ अनुसार कसैले अश्लील शब्द प्रयोग गरी अभद्र व्यवहार गरेमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना हुन सक्छ। सरकारी काममा बाधा पुर्‍याउने वा कर्मचारीलाई धम्काउने व्यक्तिमाथि पनि अभद्र व्यवहार अन्तर्गत कानूनी कारबाही चल्न सक्ने व्यवस्था छ।

यस घटनामा नेपाल सरकारको उपसचिव स्तरको कर्मचारीबाट कानून उल्लंघन भएको देखिए पनि प्रशासनले हालसम्म कुनै औपचारिक कानूनी प्रक्रिया अगाडि नबढाउँदा पीडित पक्ष असन्तुष्ट देखिएका छन्।


सम्बन्धित समाचार